संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठुलो सहर न्युयोर्क सिटीका मेयरमा जोहरान क्वामे ममदानीले जित हासिल गरेका छन् । ८४ लाखभन्दा बढी जनसंख्या भएको न्युयोर्कलाई अमेरिकाको आर्थिक तथा सांस्कृतिक राजधानी मानिन्छ । १.२८ ट्रिलियन डलर कुल गार्हस्थ्य उत्पादन (जिडिपी) रहेको न्युयोर्क अलग देश भएको भए विश्वको १९औँ ठुलो अर्थतन्त्र हुने थियो । यसलाई कहिलेकाहीँ पुँजीवादको राजधानीसमेत भनिन्छ । तर, सोही नगरको नेतृत्व अब आफूलाई प्रजातान्त्रिक समाजवादी बताउने ममदानीले गर्नेछन् ।
मंगलबारको मेयर चुनावमा ममदानीको जितलाई धेरैले ऐतिहासिक भनेका छन्, किनकि न्युयोर्क सिटीको मेयरका हिसाबमा ममदानी पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका र पहिलो अफ्रिकामा जन्मेका पहिलो मेयर हुनेछन् ।
ममदानीले खसेको कुल मतको ५० प्रतिशत मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एन्ड्रयु कोमोले ४१ प्रतिशत मत हासिल गरेका थिए । तेस्रो स्थानका रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवाले भने कुल खसेको लगभग ७ प्रतिशत मात्र मत पाए ।
कोमोले यसै वर्ष जुनमा मेयर पदका लागि डेमोक्रेटिक पार्टीभित्र भएको आन्तरिक निर्वाचनमा ममदानीसँग पराजित भएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । न्युयोर्क सिटी रहेको न्युयोर्क स्टेटका डेमोक्रेटिक पार्टीका पूर्वगभर्नर कोमोमाथि सन् २०२१ मा यौन उत्पीडनको आरोप लागेको थियो । त्यसपछि उनले सो पदबाट राजीनामा दिएका थिए । ममदानी र कोमोलाई मिडियाले डेमोक्रेटिक पार्टीभित्रका दुई धार क्रमश: श्रमिक तथा न्यून आय भएका आमनागरिकमाथि ध्यान दिनुपर्ने र धनी दाताको प्रभाव रहेका राजनीतिज्ञको प्रतिनिधि बताएका थिए ।
सन् १९९१ अक्टोबरमा कम्पालामा जन्मिएका ममदानीका पिता गुजारी मुस्लिम महमुद ममदानी र आमा पन्जाबी हिन्दु मीरा नायर हुन् । पिता पेसाले प्राध्यापक हुन् भने आमा चर्चित फिल्म निर्मात्रि हुन् । ममदानी सात वर्षको उमेरमा उनको अभिभावकसँगै न्युयोर्क सरेका थिए ।
मेन राज्यको बोडोइन कलेजबाट अफ्रिकाना अध्ययनमा स्नातक डिग्री हासिल गरेका जोहरान राजनीतिमा प्रवेश गर्नुअघि आवास सल्लाहकारको रूपमा काम गर्थे जहाँ उनले कम आय भएका परिवारहरूलाई घरबाट निकालिन रोक्न सहयोग गर्थे । सन् २०२० को न्युयोर्क राज्यसभाको चुनावमा उनी एस्टोरिया, क्विन्सको प्रतिनिधित्व गर्ने ३६औँ जिल्लाबाट निर्वाचित भएका थिए ।
यसै वर्षको सुरुमा ममदानीले ब्रुकलिननिवासी २७ वर्षीया सिरियाली मूलकी कलाकार रामा दुवाजीसँग विवाह गरेका थिए ।