मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
२o८२ भदौ २६ बिहीबार १६:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा लम्ब्याइयो कर्फ्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १६:४२:oo

कैलालीमा जारी गरिएको कर्फ्यु र निषेधाज्ञा लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभरि कर्फ्यु र निषेधाज्ञा यथावत् रहेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले तीनजनाभन्दा बढीको समूह बनाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, बैठक तथा सभा गर्न रोक लगाइएको जानकारी दिएका छन्।

साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु र बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए। त्यस्तै, बिहान ६ बजेदेखि १० बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावतको समय निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु र निषेधाज्ञा जारी रहेको जनाएको छ।

जेन–जी आन्दोलनका क्रममा कैलालीमा ठुलो क्षति भएको छ। प्रदेश सरकारका मन्त्रालयहरू, भन्सार कार्यालय, जिल्ला प्रशासन, मालपोत, नापीलगायत धनगढीमा रहेका सबैजसो सरकारी कार्यालयमा आन्दोलनकारीले आगो लगाएका थिए। आगलागीबाट सरकारी कार्यालयहरू ध्वस्त बनेका छन्। जिल्लाका कतिपय पालिका तथा नेताका घरमा समेत आगजनी भएको छ। आगजनीबाट भौतिक संरचनामा अर्बौँको क्षति भएको छ।

आन्दोलनकारीले धनगढीस्थित जिल्ला कारागारबाट ६६६ जना कैदीबन्दीलाई भगाएका थिए। अहिले जिल्लामा अवस्था समान्यउन्मुख भए पनि सम्भावित घटनालाई ध्यानमा राखेर निषेधाज्ञा र कर्फ्यु जारी राखिएको जनाएको छ।