मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यवस्था र प्रणालीमाथि भयानक षड्यन्त्र हुन खोजिरहेको छ : महेश बर्तौला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:५३:oo

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल र नेपालीको सुदूर भविष्यबारे सोच्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखका छन्, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।’

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकारको शासकीय कार्यशैली र प्रवृत्तिहरूबारे नागरिक तहमा प्रश्नहरू उठ्नु, त्यसप्रति असहमति जाहेर हुनु, खबरदारी गर्नु, विरोध वा आलोचना हुनु वा सरकारप्रति नै अरुचि प्रकट भई नयाँ सरकारको माग गर्नु लोकतन्त्रले दिएको सुन्दर अधिकार हो ।

तर, लोकतान्त्रिक हकको उपयोग गर्दै गर्दा न्यूनतम कर्तव्य, जिम्मेवारी र राष्ट्रप्रतिको जवाफदेहितालाई भने कसैले पनि भुल्नुहुँदैन भन्ने कुरा सदैव ख्याल राख्नुपर्ने उनको भनाइ रहेको छ ।

‘निरंकुशता र अधिनायकवादका विरुद्ध लोकतन्त्रका लागि जीवनभर लडेका राजनीतिक दलहरू र नेतृत्वका लागि सत्ता वा सरकार कुनै अलौकिक महत्त्वका कुराहरू होइनन्, यो त जनताले निर्धारण गर्ने या फैसला गर्ने विषयहरू हुन्,’ उनले लेखेका छन्।

मुख्य वा महत्त्वको कुरा मुलुकको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र लोकतन्त्रको रक्षा तथा संवैधानिक प्रबन्धहरूको जीवन्तता भएको उनले बताएका छन् ।

संसदबाट लोकतान्त्रिक विधिमार्फत बनेको सरकारले जेन–जेड पुस्ताको सडकको आवाजलाई सम्मान गरेर सरकारबाट मार्गप्रशस्त गरिसकेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘संसदीय प्रणाली र लोकतन्त्रमा जनादेश तथा संसद्को अंकगणितबमोजिम सरकार निर्माण हुने र विघटन हुने विषय स्वाभाविक र नियमित प्रक्रिया नै हो ।’

संसद्ले संविधानबमोजिम नयाँ सरकार निर्माण गर्नुपर्ने उनको आग्रह छ । यसको पहल र समन्वय राष्ट्रपतिबाट शीघ्रातिशीघ्र हुनुपर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘मुलुकमा सिर्जना हुने हरेक राजनीतिक घटना र प्रश्नहरूको निरूपण तथा समस्याको वैध र सर्वस्वीकार्य समाधान मुलुकको संवैधानिक प्रबन्धहरूले निर्धारण गरेको लोकतान्त्रिक मार्गबाट मात्रै हुन सक्दछ ।’

क्षणिक आवेग, उत्तेजना हडबड वा अल्पकालीन सोचबाट नभएर देशको संविधान, मुलुकले अवलम्बन गरिरहेको व्यवस्था र प्रणाली बाट मात्रै देशको सुन्दर भविष्य निर्माण गर्न सकिने उनको विश्वास छ ।

‘यसबाट मात्रै हाम्रो अग्रजहरूले रगत बगाएर, लडेर जोगाएको देशको स्वाधीनता, सर्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्न सक्छौँ,’ उनले भनेका छन् ।

तर, व्यवस्था र प्रणालीमाथि भयानक षड्यन्त्र हुन खोजिरहेको उनको भनाइ छ ।

‘यतिवेला हामी र हाम्रो राष्ट्रका विरुद्ध संविधान, व्यवस्था र प्रणालीमाथि नै खतरा उत्पन्न हुने गरी भयानक षड्यन्त्र हुन खोजिरहेको छ भन्नेतर्फ सचेत रहँदै नेपाल र नेपालीको सुदूर भविष्यबारे सोचौँ,’ उनले लेखेका छन्, ‘इगोका आधारमा आफ्ना–आफ्ना निजी मामिलाबारे होइन ।’