
देशभर नेपाली सेना तथा अन्य सुरक्षा निकायहरू परिचालन भएसँगै विभिन्न स्थानमा लुटपाट, आगजनी र अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिइएको छ ।
नेपाली सेनाका अनुसार भदौ २४ गते राति १० बजेदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यसपछि भोलिपल्ट भदौ २५ गते बिहान १० बजेसम्मको अवधिमा काठमाडौंसहित विभिन्न स्थानहरूमा विध्वंसात्मक र उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् ।
काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट मात्र लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार नगद बरामद गरिएको छ । यस्तै, काठमाडौंका विभिन्न स्थान र पोखराबाट गरी विभिन्न प्रकारका ३१ नाल हतियार, म्यागजिन र गोलीगठ्ठासमेत बरामद भएको छ ।
सुरक्षाकर्मीले आगजनी नियन्त्रणका लागि तीनवटा बारुणयन्त्र प्रयोग गरेका छन् । घटनामा संलग्नताका कारण २३ जना नेपाल प्रहरी र तीनजना सर्वसाधारण घाइते भएको र उनीहरूको उपचार सैनिक अस्पतालमा भइरहेको सेनाले जनाएको छ ।