मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
२o८२ भदौ २५ बुधबार o९:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अत्यावश्यक सेवामा आक्रमण नगर्न नेपाल टेलिकम र एनसेलको अपिल

एनसेलले दुई दिनका लागि नि:शुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार o९:३३:oo
  • नेपाल टेलिकम नेपालमा दूरसञ्चार सेवाको विकास र विस्तारमा निरन्तर लागिरहेको सार्वजनिक संस्था हो । आक्रमण हुँदा नेपाली जनताको आफ्नै साझा सम्पत्ति विनाश हुन्छ ।

दूरसञ्चार सेवाप्रदायक कम्पनीले अत्यावश्यक दूरसञ्चारको समग्र सेवामा अवरोध उत्पन्न हुन सक्ने भन्दै कुनै पनि आक्रमण र तोडफोड नगर्न अपिल गरेका छन् । नेपाल टेलिकम र एनसेलले विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । टेलिकमले भनेको छ, ‘नेपाल टेलिकम नेपालमा दूरसञ्चार सेवाको विकास र विस्तारमा निरन्तर लागिरहेको सार्वजनिक संस्था भएको र नेपाली जनताको आफ्नै साझा सम्पत्ति रहेको सर्वविदितै छ ।’

कम्पनीले राष्ट्रिय विपत्ति तथा अत्यावश्यक समयमा समेत सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै टेलिकमले भनेको छ, ‘यस कम्पनीको भौतिक सम्पत्तिसमेत सम्पूर्ण नेपाली जनताको सम्पत्ति भएको हुनाले यस कम्पनीप्रति सद्‌भाव राख्नुहुन तथा संरक्षण गरिदिनुहुन सम्पूर्णमा नेपाल टेलिकम हार्दिक अनुरोध गर्दछ ।’

त्यसैगरी, एनसेलले दूरसञ्चारजस्तो अत्यावश्यक सेवा अवरुद्ध नगराउन आग्रह गरेको छ । मंगलबार प्रदर्शनकारीले कम्पनीको केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरेपछि विज्ञप्ति जारी गर्दै यस्तो बताएको छ । दूरसञ्चारजस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्तालाई मर्का पर्ने एनसेलले स्मरण गराएको छ । 

‘आज २०८२ साल भाद्र २४ गते मंगलबार यस कम्पनीको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड भएको छ । दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरूलाई मर्का पर्ने सुनिश्चित छ । यस्ता अत्यावश्यक सेवा तथा सम्पत्तिमाथि कुनै पनि क्षति नपुर्‍याइदिन र अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सहयोग गर्न एनसेलले सबैलाई आग्रह गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ । 

साथै, कम्पनीले उपभोक्तालाई सहज सञ्चारको पहुँचको सुनिश्चितताका लागि मंगलबार र बुधबार दुई दिनका लागि नि:शुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको बताएको छ । साथसाथै, देशमा हालै विकसित भएको घटनाक्रम र त्यसमा ज्यान गुमाउनेहरूप्रति समवेदनासमेत व्यक्त गरेको छ ।