
बाराको कलैया उपमहानगरपालिका–१८ पतौराका एकजनामा हैजा संक्रमण पुष्टि भएसँगै स्वास्थ्यकर्मीको टोली संक्रमितको घर र गाउँ पुगेको छ। कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट खटिएका टोलीले अन्य व्यक्तिमा पनि लक्षण देखिएको छ कि भनेर निगरानी र जाँच गरेको, तर हालसम्म अन्यमा संक्रमण नदेखिएको प्रादेशिक अस्पताल कलैयाले जानकारी दिएको छ।
प्रादेशिक अस्पताल कलैयामा उपचाररत एक पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेसु डा. अजयकुमार गुप्ताले जानकारी दिए।
झाडापखाला लागेर उपचारको क्रममा अस्पतालमा भर्ना भएका कलैया उपमहानगरपालिका–१८, पतौराका एक पुरुषमा बुधबार हैजा संक्रमण पुष्टि भएको थियो। पारिवारिक स्रोतका अनुसार उनी वीरगन्जस्थित एक निजी कम्पनीमा कार्यरत कर्मचारी हुन्।
पछिल्लो समय कलैयामा हैजाको हल्ला सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा फैलिएको छ। तर, जिल्ला स्वास्थ्य कार्यालयले जनतालाई आतंकित नहुन र सावधानी अपनाउन आग्रह गरेको छ। प्रमुख गुप्ताले भने, ‘कोही पनि डराउनुपर्दैन। आफू र परिवारको व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस्, नियमित रूपमा हात धुनुहोस्, सुरक्षित खानेपानी प्रयोग गर्नुहोस्। सावधानी नै सुरक्षा हो।’