
नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ। महासंघका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष ज्ञापनपत्र बुझाउँदै यस्तो अल्टिमेटम दिएको हो।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हाल अवरुद्ध अनलाइन दर्ता र नवीकरण नियमित नभए महासंघ आन्दोलनमा उत्रने उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न संक्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिए।
मन्त्रालयकी सचिव राधिका अर्यालले पनि सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताएकी छिन्। छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, ०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था पछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध छ ।