
जिल्ला प्रशासन कार्यालय खोटाङमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १० बजेदेखि लाइनमा राखेर टोकन सिस्टममार्फत फारम भराउने गरिएको छ । तर, एउटा स्टेसन अनि एकजना मात्रै कर्मचारी हुँदा पालैपालो फारम भर्ने प्रणालीले राति अबेरसम्म पर्खेर बस्दा पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् ।
वर्षातकाे समय भएकाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका वृद्धावृद्धालाई राष्ट्रिय परिचयपत्र भर्न गाउँबाट जिल्ला प्रशासनसम्म आइपुग्न समस्या हुने गरेको छ। प्रशासन आइसकेपछि तत्काल सेवा लिन नपाउँदा कोही प्रशासनको भुइँतला, कोही फलैँचा त कोही जिल्ला समन्वय समिति खोटाङको पार्किङस्थलमा बसिरहेका भेटिन्छन् ।
आफन्त वा परिवारका अन्य सदस्यको साथ लिएर दैनिक सयजनाभन्दा बढी जिल्ला प्रशासन आउने गरेका छन् । गाडी रिजर्भ गरेर आएका अधिकांश सेवाग्राहीले यस्तै सास्ती खेप्दै आएका छन् । पछिल्लो समय सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको विवरण नवीकरण गर्न अनिवार्य बायोमेट्रिक्स गर्नुपर्ने नियम सरकारले लागू गरेपछि सबैभन्दा बढी उनीहरूलाई सास्ती भएको छ ।
प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि आफ्नो पालो कुरेर बस्नका लागि प्रशासनले प्यासेज (आवतजात गर्ने ठाउँ)मा म्याट बिच्छ्याइदिएको छ । म्याटमा बसेर पालो कुरिरहेका उनीहरू अधिकांशको एउटै गुनासो सुनिन्छ, ‘बल्ल–बल्ल जिल्ला आइपुगियो । फेरि यसरी लाइन कुरेर कतिबेरसम्म बस्नु ? राज्यले उपलब्ध गराउने सुविधा लिन पनि यत्रो हैरानी खेप्नुपर्ने ? यस विषयमा सम्बन्धित निकायको ध्यान जाओस् ।’
कहिले स्टेसनमा जडान गरिएको सर्भरले काम नगर्ने त कहिले धेरै भिड भएर पालो कुर्नुपर्ने समस्याले सेवाग्राही हैरानीमा परेका छन् । अहिले सामाजिक सुरक्षा भत्ता लिइरहेका सेवाग्राहीलाई खाता खोल्न बैंकहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि फारम भर्न आउने लाभग्राहीको संख्या बढेको पाइएको छ ।
राष्ट्रिय परिचयपत्र दर्ता स्टेसनमा स्टेसन र जनशक्ति अभाव हुँदा सेवाग्राहीको फारम भर्न समस्या भएको जिल्ला प्रशासन कार्यालय खोटाङमा सञ्चालित राष्ट्रिय परिचयपत्र दर्ता स्टेसनका प्रमुख फनिन्द्र राईले बताए । ‘दैनिक सयजनाभन्दा बढी सेवाग्राही आउने गरेका छन् । पालैपालो सेवा दिँदै जाँदा वृद्धवृद्धा र अपांगता भएका सेवाग्राहीले दुःख पाइरहेका छन्,’ उनले भने, ‘राष्ट्रिय परिचयपत्रको फारम भर्दा बायोमेट्रिक्स गर्न १० औँलाको प्रिन्ट, आँखाको रेटिनाको फोटोलगायतको डाटा समावेश गर्नुपर्ने हुन्छ । जनशक्ति पनि अभाव छ । एकजना व्यक्तिको विवरण भर्न कम्तीमा पनि १५ मिनेट लाग्छ । सर्भरले पनि राम्रो काम गर्दैन । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाँचवटा वडाका सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको बैंक परिवर्तन गर्नुपर्ने भएकाले थप समस्या सिर्जना भएको सामाजिक सुरक्षा तथा पञ्जीकरण एकाइका फिल्ड सहायक गम्भीर खत्रीले बताए । बैंक परिवर्तन र वडामा घुम्ती टोलीमार्फत फारम भरिएका अधिकांश लाभग्राहीको राष्ट्रिय परिचयपत्र सिस्टममा एप्रोभ नभएकाले समस्या सिर्जना भएको हो ।
१० स्थानीय तह रहेको जिल्लामा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय खोटाङ बजारबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने गरिएको छ । इलाका प्रशासन कार्यालय खोटाङ बजारले जन्तेढुंगा, खोटेहाङ र बराहापोखरी गाउँपालिकाका नागरिकहरूको राष्ट्रिय परिचयपत्रको फारम भर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय दिक्तेलमा भने बाँकी दुई नगरपालिका (दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका) तथा पाँच गाउँपालिकाको एकै स्टेसनबाट सेवा प्रवाह गर्दा सेवाग्राही मारमा परेका छन् । सेवा लिन आउनेको संख्या बढेपछि पालो नपाएका सेवाग्राहीहरू तीन दिनसम्म होटेलमा बस्न बाध्य बनेका छन् ।
राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जिल्ला प्रशासन खोटाङ आएका सेवाग्राहीलाई राति अबेरसम्म खटिएर भए पनि सेवा उपलब्ध गराउने गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । ‘अहिले सामाजिक सुरक्षा भत्ता लिने लाभाग्राही बढी भएकाले प्रशासनमा चाप बढेको छ । सेवाग्राहीको चाप बढेपछि स्टेसन थप गर्ने विषयमा विभागसँग समन्वय गर्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘अशक्त र अपांगता भएका सेवाग्राहीलाई स्थानीय तहसँग समन्वय गरेर उपयुक्त ठाउँ पहिचान गरेर अस्थायी दर्ता केन्द्र सञ्चालन गर्ने योजना बनाएका छौँ । अबको केही दिनभित्रै गाउँगाउँमा टोली परिचालन गरेर सेवाग्राहीलाई उनीहरूकै गाउँमा सेवा उपलब्ध गराउँछौँ ।’
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बायोमेटिक भेरिफिकेसनमा समेत राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य राख्नुपर्ने व्यवस्था लागू गरिएपछि लाभग्राहीहरू थप समस्यामा परेका छन् । ०७७ साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम सुरु गरिएको जिल्लामा एक लाख २२ हजार २७५ जना नागरिकले राष्ट्रिय परिचयपत्रको फारम भरिसकेको तथ्यांकमा उल्लेख छ ।