मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
२o८२ भदौ ९ सोमबार १८:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कैलाली कारागारका थुनुवाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार १८:o१:oo

कैलाली कारागारमा एकजना थुनुवाको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका–४ घर भएका ५६ वर्षीय रामकिसन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोमबार दिउँसो स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएका चौधरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। प्रहरीका अनुसार अस्पताल पुर्‍याएको करिब आधा घण्टापछि उनको मृत्यु भएको हो।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई कारागार प्रशासनले अस्पताल पुर्‍याएको थियो। उनी रक्तचापका बिरामी रहेको बुझिएको र कारागार ल्याउँदा पनि उनले आफूलाई उच्च रक्तचापको समस्या रहेको भनेर फाराममा उल्लेख गरेका कारागार प्रशासनले जनाएको छ।

‘रिंगटा लागेको र टाउको दुखिरहेको छ भनेपछि उहाँलाई तत्कालै अस्पताल लगेका थियौँ,’ कैलाली कारागारका प्रमुख प्रकाश ढुंगानाले भने, ‘अस्पताल पुर्‍याएको केही समयमा मृत्यु भयो।’ मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुने उनले बताए।

कारागार प्रशासनका अनुसार जबर्जस्ती करणी मुद्दामा अदालतले चौधरीलाई गत २९ साउनमा पुर्पक्षका लागि थुनामा पठाएको थियो।