
लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत आइतबार खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजले तिजको अवसरमा आयोजना गरेको तिज महोत्सवअन्तर्गतको प्रतियोगिताको आइतबार सम्पन्न लिग चरणको खेलमा आयोजक, जिएम समाज, ढुंगेदेउराली क्लब र एपिएफ क्लब पोखरा विजयी हुँदै समान ३ अंक बटुलेका छन् ।
६ टोली सहभागी प्रतियोगितामा २ खेल खेलेका माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति र कृष्णदल फूलबारी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिए ।
समूह ‘ए’ मा रहेको आयोजकले आइतबार बिहान माछापुच्छ्रे गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट ३३–३१ मा जितेकोमा दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१८ मा आफ्नो पक्षमा पार्दै विजयी यात्रा सुरुवात गरेको हो ।
दोस्रो खेलमा जिएम समाजले कृष्णदललाई २५–२०, २५–१८ र २५–२३ सेटमा हरायो । तेस्रो खेलमा ढुंगेदेउरालीसँग कोर्ट उत्रिएको माछापुच्छे गाउँपालिकाले पुनः हार व्यहोर्न पुग्यो ।
आइतबारकै चौथो खेलमा एपिएफ क्लबले कृष्णदलको चुनौती सोझो सेटमै पन्छायो । एपिएफ २५–२०, २५–२१ र २५–१९ सेटमा विजयी भएको हो । समूह ‘ए’ मा आयोजकसहित ढुंगेदेउराली छन् । समूह ‘बि’ मा जिएम समाज र एपिएफ छन् ।
सोमबार लिगअन्तर्गत पहिलो खेलमा आयोजकले ढुंगेदेउराली र दोस्रो खेलमा जिएम समाजले एपिएफको सामना गर्ने प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतमले जानकारी दिए ।
अन्तर मावि छात्रा भलिबलमा टप्स र शान्त मावि फाइनल प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा तथा शान्तले पोखरा युनाइटेडलाई २–१ सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । उनीहरूबिच फाइनल १० भदौमा हुनेछ ।
पुरुष भलिबल विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तर मावि छात्रा भलिबल विजेताले एक लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ ।