
शुक्रबारदेखिको अविरल वर्षासँगै आएको पहिरोका कारण हेटौँडा र काठमाडौं जोड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथ अवरुद्ध छन् ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–भैँसे सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा माथिबाट खसेको ठूलो पहिरोले शुक्रबार साँझदेखि अवरुद्ध सडक अहिलेपनि खुल्न सकेको छैन । यसैगरी हेटौँडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सडक सुचारु बनाउन सडक विभाग, प्रहरी, सेना र हेटौँडा उपमहानगरपालिकाका उपकरण परिचालन गरिएको भए पनि अवरुद्ध सवारी साधनहरू बीचमै रोकिएका छन् ।
यता कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर ८ भर्याङडाँडा र बकैया गाउँपालिकाको लेनडाँडामा गएको पहिरोका कारण उक्त राजमार्ग पनि शुक्रबारदेखि नै बन्द छ ।
मकवानपुर प्रहरी प्रवत्तःा डिएसपी श्यामु अर्यालका अनुसार सडक माथीबाट लेदासहित ढुंगा माटो खसिरहेकाले पहिरो पन्छाउन कठिनाई भएको छ । बाटो अवरुद्ध हुँदा सवारीसाधन सडकमै रोकिएका छन भने यात्रुहरु अलपत्र परेका छन् ।