मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३ मंगलबार २१:१२:oo
Read Time : > 1 मिनेट
अर्थ

नेपालको पर्यटन प्रवर्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबिच साझेदारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार २१:१२:oo

विश्‍वसामु नेपालको पर्यटन प्रवर्धन गर्न नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल टिकटकबिच साझेदारी भएको छ । यसअन्तर्गत लाइफटाइम एक्सपेरिमेन्ट नामक विशेष अभियान सुरु गरिएको छ । जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वभर दर्शकसमक्ष पुर्‍याउनु रहेको छ।

समझदारीपत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यो सहकार्यलाई नेपालको पर्यटन प्रवर्धनको पहलमा महत्वपूर्ण योगदान दिने बताएका छन् । उनले भने, ‘यो केवल एउटा सम्झौतामात्र होइन, यो नेपाललाई संसारसँग जोड्ने पुल हो । टिकटक जस्तो विश्वव्यापी प्लेटफर्ममार्फत हामीले नेपालको हिमाल, संस्कृति, उत्सव र आतिथ्यलाई करोडौँ दर्शकमाझ पुर्‍याउने अवसर पाएका छौँ । यो अभियानले नेपाललाई विश्‍वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्नेछ ।’
मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा उल्लेख गर्दै सहकार्यले ग्रामीण भेगका समुदाय, साना व्यवसायी र स्थानीय गाइडहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महत्वपूर्ण समझदारी भएको उल्लेख गर्दै भने, ‘नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पुर्‍याउने हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ । यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभई स्वदेशमा रहेका युवाहरूलाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढंगले अभिव्यक्त गर्ने अवसर दिनेछ।’

जोशीका अनुसार बोर्डले अन्तर्राष्ट्रियस्तरका ट्राभल क्रिएटरलाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ–मन्दिरदेखि ग्रामीण होमस्टेसम्म पुर्‍याउनेछ । उनीहरूले छोटा भिडियोमार्फत नेपालको पर्यटकीय गन्तव्यबारे डिजिटल संसारमार्फत प्रचारप्रसार गर्ने जोशीको भनाइ छ । 

यसैगरी, टिकटकका दक्षिण एसियाका पब्लिक पोलिसी प्रमुख फर्दोस मत्ताकिनले टिकटकमार्फत हरेक दिन करोडौँ मानिसले नयाँ गन्तव्य र अनुभव खोजी गर्ने भएकोले नेपालको पर्यटन प्रवर्द्धनमा यस सहकार्यले योगदान पुर्‍याउने विश्‍वास व्यक्त गरेका छन् । उनले भने, ‘टिकटकमा हरेक दिन करोडौँ मानिस नयाँ गन्तव्य र अनुभव खोज्छन्। नेपालजस्तो हिमाल, अध्यात्म, विविध संस्कृतिले भरिपूर्ण देशलाई छोटा भिडियोमार्फत संसारभर पुर्‍याउन पाउनु हाम्रो लागि गर्वको कुरा हो ।’ मत्ताकिनले यस अभियानअन्तर्गत लाइफटाइम एक्सपेरिमेन्ट ह्यासट्यागमा विशेष इन–एप प्लेटफर्म बनाइने जानकारी गराए । उनले थपे, ‘हिमालयदेखि तराइका नदी, उत्सवदेखि खानपान र सांगीतिक परम्परा सबैलाई छोटा भिडियोमा उतारेर विश्वभर देखाइनेछ ।’

टिकटकका प्रकाशन व्यवस्थापक उमाइस नवीदले यस समझदारीअन्तर्गत विश्वभरका क्रिएटरलाई नेपाल आमन्त्रण गर्ने र उनीहरूले यहाँका अनुभवलाई भिडियोमा डिजिटल संसारमा राख्‍ने जानकारी दिएका छन् । उनले थपे, ‘यसले करोडौँ मानिसलाई नेपाल प्रत्यक्ष भ्रमण गर्न प्रेरित गर्नेछ । यो अभियानको तीन आधारस्तम्भ छन्– नेपालको प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा र स्थानीय समुदायसँगको आत्मीयता।’

साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत नेपालका कथाहरू सुनाउने विषयमा कार्यशाला गर्नेछ। जसमा नेपाली कन्टेन्ट क्रिएटरलाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ । 

टिकटसँग बोर्डले गरेको यो समझदारीअनुसार सन् २०२५ को बाँकी अवधिभर यो अभियान चरणबद्ध रूपमा सञ्चालन हुनेछ। यसबिचमा काठमाडौंमा भिजिट नेपाल सोकेस इभेन्ट आयोजना हुनेछ र जसमा अन्तर्राष्ट्रिय क्रिएटर, सांस्कृतिक दूत र पर्यटन व्यवसायीहरू सहभागिता रहनेछ।