
आफ्ना अध्यक्षलाई फसाउन षडयन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्ताले सोमबार साँझ जनकपुरसहित मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् ।
१९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि जसपा नेपालका नेता तथा कार्यकर्ताहरू स्थानीय चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
यसैक्रममा जनकपुरधामको रामानन्द चोकमा प्रदर्शकारीहरूले ‘उपेन्द्र यादवविरुद्धको षड्यन्त्र बन्द गर, षड्यन्त्रकारी होसियार’ जस्ता नारा लगाएका छन् । जसपा नेपालका मधेस प्रदेशका प्रमुख सचेतक रामआशिष यादवले परमादेश फिर्ता नलिए आफूहरू कडा आन्दोलनमा उत्रने चेतावनी दिए । कांग्रेस र एमालेका संयुक्त सरकारले पहिचानवादी शक्तिलाई कमजोर बनाउन लागिएको बताए ।
जसपा नेपाल, धनुषाको अध्यक्ष पशुपति यादवले मधेशलाई मरुभूमि बनाउन भूमि अध्यादेश पारित नगर्दा आफ्ना अध्यक्ष उपेन्द्र यादवविरुद्ध षड्यन्त्र गरिएको दाबी गरे ।
तत्काल सांकेतिक विरोध कार्यक्रमको आयोजना गरिएको र थप संघर्षका कार्यक्रम गर्ने उनले बताए । सोमबार सर्वोच्चले गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सोमबार परमादेश दिएको छ ।
विराटनगरको रोडशेष चोकमा प्रर्दशन
सर्वोच्चको आदेशविरुद्ध विराटनगरमा पनि जसपा नेपालका कार्यकर्ताले प्रर्दशन गरेका छन् । विराटनगरको रोडशेष चोकमा भेला भएका जनता समाजबादी नेपाल पार्टीका कार्यकर्ताहरुले अहिले साँझ सरकारविरुद्ध नारावाजी गर्दै प्रर्दशन गरेका हुन् ।
७ चैत ०६३ मा रौतहाटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीको आमसभामा झडप हुँदा नरसंहार भएको थियो । सोही घटनामा सर्वोच्चले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव समेतलाई अनुसन्धान गर्नेगरी सरकारका नाममा परमादेश गरेको हो ।
वीरगन्जमा प्रर्दशन
सर्वोच्चको आदेशको विरोध गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ पर्साले वीरगन्जमा पनि सोमबार साँझ टायर बालेर प्रदर्शन गरेको छ ।
सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा उनीहरूले घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतको गौर घटनामा जारी गरेको अन्यायपूर्ण परमादेशविरुद्धमा सडकमा उत्रेको उनीहरुको भनाइ छ ।
गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश दिएको हो । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएका हुन् ।