
उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सातधारेका ४० वर्षे पुरुष दिलबहादुर राई त्रियुगा नदीमा माछा मार्न क्रममा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार राई हिजो आइतबारदेखि बेपत्ता भएका हुन्।
माछा मार्न गएका उनको साइकल र माछा मार्न प्रयोग गरिएको जाल नदी किनारमा फेला परेकाले नदीमा डुबेर बेपत्ता भएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ। ‘छिमेकी र आफन्तका अनुसार माछा मार्न गएका हुन्। चढेको साइकल र माछा मार्न प्रयोग गरेको जाल फेला परेको छ। मान्छे बेपत्ता छन्,’ डिएसपी दोङले भने।
बेपत्ता राई चौदण्डीगढी नगरपालिका–९ भिमास्थित त्रियुगा नदीमा डुबेको प्रहरीको भनाइ छ। निरन्तरको वर्षाका कारण नदीको बहाव ठूलो भएकाले खोजी कार्यमा असहज भएको प्रहरीले जनाएको छ।