
एक दिनको अन्तरमा नवलपुरको नारायणी नदीकिनारमा एक महिला र एक बालक गरी दुईजनाको शव फेला परेको छ। दुवैजनाको शव सडीगलिसकेको अवस्थामा रहेको कारण पहिचान हुन सकेको छैन।
नवलपुरको मध्यविन्दु नगरपालिका– १२, भूपूनजिकै नारायणी नदीकिनारमा आज आइतबार एक बालकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणीकिनारमा ९–१० वर्षको बालकको शव फेला परेको हो।
आज दिउँसो सवा ३ बजेतिर सडेको अवस्थामा बालकको शव फेला परेको हो र उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। घटनास्थल अरुणखोलाबाट ७ किमि उत्तरमा पर्छ। घटनास्थलको मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डन्डा ल्याइएको छ।
हिजो मात्रै नवलपुरको कावासोती नगरपालिका– १२, पिठौलीस्थित नारायणी नदीकिनारमा एक महिलाको शव सडेगलेको अवस्थामा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार महिलाजस्तो देखिने शव फेला परेको हो। उक्त शव पनि घटनास्थलको मुचुल्का तयार पारी पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा राखिएको प्रहरीले जनाएको छ।
ती शव ११ दिनअघि स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीस्थित कालीगण्डकी नदीको किनारबाट हराएका आमाछोराको हुन सक्ने प्रहरीको आशंका छ। तथापि शव पहिचान गर्न मिल्ने कुनै आधार नभएकाले डिएनए परीक्षण गरेपछि मात्र पहिचान हुने बताइएको छ।
साउन २१ गते साँझ कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य जारी गरिएको थियो। स्याङ्जाको गल्याङ नगरपालिका–५, सेतीवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेको थियो। ती सामान कालीगण्डकी गाउँपालिका–४ बिर्घा बस्ने २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डेको रहेको पाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। साथै, श्यामकला पाण्डेका आफन्तलाई पनि यस विषयमा जानकारी गराउने काम भएको प्रहरीले जनाएको छ।