मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
२o८२ भदौ १ आइतबार १४:o६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आम्दानीको स्रोत बन्दै जडीबुटी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार १४:o६:oo

सल्यानका वनपाखामा उम्रिरहेका जडीबुटीहरू अब केवल पारम्परिक औषधि र घरेलु प्रयोगका लागि सीमित छैनन्। तिनै वनस्पतिहरूले अब राज्यलाई राजस्व दिन थालेका छन्। किसानलाई आम्दानीको स्रोत बनिरहेका छन्। तर, जति सम्भावना छ, त्यति नै सरकारी ध्यानको अभाव पनि देखिन्छ।

गत आर्थिक वर्षमा सल्यानबाट जडीबुटी संकलन तथा निकासीबाट १९ लाख ३० हजार २०६ रुपैयाँ राजस्व संकलन गरिएको छ। डिभिजन वन कार्यालयका अनुसार जिल्लाका सामुदायिक वन क्षेत्रबाट १७ लाख ३९ हजार ९८ केजी जडीबुटी संकलन भएको थियो। सबैभन्दा बढी टिमुरको निकासी भएको कार्यालयका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिए। ‘पछिल्लो समय टिमुरसँगै रिठा, तेजपात, चोथ्रालगायतका जडीबुटीबाट पनि उल्लेखनीय राजस्व संकलन भएको छ,’ उनले भने।

सूचना अधिकारी खड्काका अनुसार पछिल्लो समय रक्तचन्दन, श्रीखण्ड, बुद्धचित्तजस्ता जडीबुटीप्रति किसानहरूको चासो बढ्दो छ। तर, रैथाने जडीबुटीहरूको मूल्य स्थिर हुने भएकाले त्यसतर्फ किसानलाई आकर्षित गरिनुपर्ने उनको भनाइ छ। चालू आर्थिक वर्षमा राजस्व संकलन अझ बढ्ने अनुमान गरिएको डिभिजन वन कार्यालयका प्रमुख टेकबहादुर रावलले बताए। उनका अनुसार गत वर्ष वन विभागको कार्यविधिअनुसार जडीबुटी निकासीका लागि पुर्जी प्रदान गरिएको थियो।

हरेक वर्ष जिल्लाबाट १५ भन्दा बढी प्रजातिका जडीबुटी निकासी हुने गर्छन्। रावलले भने, ‘वन कार्यालयले रैथाने जडीबुटीका बिरुवाहरूको वितरणसमेत गर्दै आएको छ।’ कपुरकोट गाउँपालिका– ३ का किसान पूर्वान पुनले करिब १० वर्षदेखि दालचिनी, रिठा, अमलालगायतका जडीबुटीको खेती गर्दै आइरहेका छन्। ‘जडीबुटी खेतीबाट म वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गरिरहेको छु,’ उनले भने।

वनस्पति अनुसन्धान केन्द्र सल्यानले जिल्लामा ७० भन्दा बढी दुर्लभ र ६ सयभन्दा धेरै स्वदेशी तथा विदेशी वनस्पति तथा जडीबुटीहरू संरक्षण, खेती र अनुसन्धानका लागि केन्द्रित रूपमा काम गरिरहेको छ। केन्द्रका प्रमुख डा. मित्र पाठकका अनुसार किसानलाई तालिम, प्राविधिक सहायता तथा बिरुवा वितरणमार्फत जडीबुटी खेतीतर्फ प्रेरित गरिएको छ। ‘पाँच सयदेखि तीन हजार मिटर उचाइमा खेती गर्न सकिने टिमुर, रिठ्ठा, तेजपात, काउलो, चिउरी, लप्सी, हर्रो, बर्रो, अमला, ओखर, कुरिलो, रोजमेरीलगायत १५ प्रजातिका बिरुवालाई प्राथमिकतामा राखिएको छ,’  डा. पाठकले भने।

जलवायु परिवर्तन, आगलागी, खेती प्रविधिको अभाव, अत्यधिक दोहन, चोरी निकासी, खुला चौपाया चरनजस्ता समस्याहरू न्यूनीकरण गर्न सके जिल्लामा जडीबुटी खेती अझ फस्टाउन सक्ने छत्रेश्वरी गाउँपालिका– ५ पोखराका बालाराम ओलीले बताए। सल्यानमा विजयसाल, सतीसाल, सुगन्धवाल, चिराइतो, कुरिलो, घिउकुमारी, सुनाखरी, केसर, सुगन्धकोकिला, सर्पगन्धा, टिमुर, रिठा, तेजपत्ता, पाखनवेद, अमला, ओखरजस्ता औषधीय गुणयुक्त जडीबुटी पाइन्छन्।

किसानहरू राज्यका तीनै तहको जडीबुटी विकास कार्यक्रम, खेती विस्तार, पकेट क्षेत्र निर्धारण, भण्डारण तथा प्रशोधन केन्द्र निर्माण, अनुदान र जनचेतनामूलक कार्यक्रमहरू समुदायमा विस्तार गर्नुपर्ने सुझाव दिन्छन्।