
भारतीय विदेशसचिव विक्रम मिश्री आइतबार काठमाडौं आइपुगेका छन् । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि नेपाल आएका हुन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शनिबार मिश्रीको भ्रमण–तालिका सार्वजनिक गरेका छन् । विदेशसचिव भएपछि उनी दोस्रोपटक नेपाल आएका हुन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार विदेशसचिव मिश्रीका अधिकांश भेटवार्ता आइतबारै हुनेछन् । आइतबार नै नेपाल र भारतका परराष्ट्रसचिवहरूबिच औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
कनेक्टिभिटी, विकास सहयोग तथा पारस्परिक अन्य विषयलगायत नेपाल–भारत साझेदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशसचिव मिश्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सचिव मिश्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो
स्रोतका अनुसार उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् । प्रधानमन्त्री ओली भदौ अन्तिममा भारतको औपचारिक भ्रमणमा जाने तय भएको छ ।
ओलीले अनौपचारिक निम्तो पाइसकेका छन् । औपचारिक निम्तोका लागि विदेशसचिव मिश्री नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा भ्रमणको कार्यतालिका सार्वजनिक नगरे पनि प्रधानमन्त्री कार्यालयले ३१ भदौदेखि १ असोजसम्म ओली भारत भ्रमणमा जाने तय भएको जनाएकाे छ ।