मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
Invalid date format o९:१३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थल नचल्नुमा सरकार जिम्मेवार : स्थानीय

नियमित सञ्चालनका लागि प्रयासरत रहेको पर्यटनमन्त्रीको दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१३:oo

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरकारकै कारण नियमित चल्न नसकेको स्थानीयले आरोप लगाएका छन् । सरकारको उदासीनता र समन्वय अभावका कारण विमानस्थल चल्न नसकेको उनीहरूले बताएका छन् ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा शनिबार आयोजना गरेको ‘विमानस्थल दिगो सञ्चालनसम्बन्धी छलफल’का सहभागीले सरकार गम्भीर हुन नसक्दा विमानस्थलमा नियमित उडान हुन नसकेको बताएका हुन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले सरकारी उदासीनताका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताए । विमानस्थल सञ्चालनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबिच तालमेलसमेत हुन नसकेको उनको आरोप छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल चल्छ कि चल्दैन ? भन्ने कुरा सरकारले प्रस्ट पार्नुपर्ने बताए । ‘हाम्रा सबै मुद्दा ओझेलमा पारेर खाली विमानस्थल भनेका छौँ, तर सरकारले नियमित सञ्चालनमा ध्यानै दिँदैन,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले विमानस्थल नचलेकै कारण हरेक क्षेत्रमा समस्या बढिरहेको बताए । ‘घरजग्गामा लगानी गरेका डुबेका छन्, होटेलमा लगानी गरेका धराशायी छन्,’ उनले भने, ‘सक्छ सरकारले चलाओस्, सक्दैन निजी कम्पनीलाई दिएर भए पनि विमानस्थल चलाउनुपर्छ । यसमा ढिलाइ हुनुहुँदैन ।’

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपानेले सरकारको काम गर्ने इच्छाशक्ति नहुँदा विमानस्थल सञ्चालन ओझेलमा परेको बताए । ‘अहिले कांग्रेस–एमालेको बलियो सरकार हुँदा त यस्तो अवस्था छ भने अरूबाट के अपेक्षा गर्न सकिन्छ ?’ उनले भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले पहिला कमजोर सरकार भएर नचलेको भनिए पनि बलियो सरकारले समेत विमानस्थल चलाउन नसकेको गुनासो गरे । उनले सरकारले नसके निजी कम्पनीलाई दिएर भए पनि सञ्चालन गर्नुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले स्थानीय, प्रदेश र संघीय सरकारको तालमेल नहुँदा पनि यो विमानस्थल सञ्चालनमा समस्या देखिएको बताए । पर्यटन व्यवसायी सञ्जीव जोशीले सरकारले चाहेमा यो विमानस्थल सञ्चालनमा कुनै समस्या नरहेको बताए । विमानस्थल सञ्चालमा नेपाल सरकारको नै रुचि कम रहेका कारण सञ्चालन हुन नसकेको बताए ।

संघर्ष होइन सहजीकरण समिति बनाउनुस् : मन्त्री पाण्डे
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा विमानस्थल नियमित सञ्चालनका लागि सरकार प्रयासरत रहेको बताए । ‘विमानस्थल सञ्चालनका लागि पर्यटन, अर्थ, परराष्ट्र, गृह, श्रमलगायत मन्त्रालयको उत्तिकै भूमिका रहन्छ, सबै मन्त्रालयसँगको समन्वयमा विमानस्थल नियमित सञ्चालन गर्ने गरी छलफल अगाडि बढाइएको छ,’ उनले भने । स्थानीयस्तरमा विमानस्थल सञ्चालन संघर्ष समितिलाई नाम परिवर्तन गरी सहजीकरण समिति बनाउन उनले आग्रह गरे । ‘संर्घषले होइन, सहजीकरणले मार्केटिङ हुने हो, त्यसतर्फ अगाडि बढौँ, संघर्षतर्फ होइन,’ उनले भने ।

पर्यटनमन्त्री पाण्डेले विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन मिल्ने गरी कानुन ल्याउन लागकेको बताए । उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिन मिल्ने गरी ऐनमा व्यवस्था गर्न लागिएको बताएका हुन् ।

यात्रु सुविधा नभई विमानस्थल चल्दैन : महाप्रबन्धक
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यात्रुलाई सुविधा नदिइँदासम्म विमानस्थल सञ्चालनमा कठिनाइ हुने बताए । ‘श्रम, भिसा, म्यानपावरका लागि काठमाडौं धाउनुपरेपछि यहाँ यात्रु किन आउँछन् ?’ प्रश्न गर्दै उनले भने, ‘पहिला यी समस्या समाधान गर्नुपर्छ ।’ उनले यसअघि केही समय उडान गरेका जजिरा र थाई एयर एसियाले ७७ प्रतिशत यात्रु पाउँदा पनि नियमितता दिन नसकेको बताए । भैरहवाबाट नेपालगन्ज, धनगढीलगायतका ठाउँमा पनि आन्तरिक उडान गर्नुपर्नेमा उनले जोड दिए ।