मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
Invalid date format o९:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपा युवक संगठनका उपाध्यक्ष ढकालले तिरेनन् दमक नगरपालिका भवनको भाडा 

नगरपालिकाको भवनमा ढकालले श्रीमतीको नाममा होटेल सञ्चालन गरे, तर चार लाख ७६ हजार भाडा तिरेनन् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o५:oo

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका झापा उपाध्यक्ष भुवन ढकालले दमक नगरपालिकाको संरचना प्रयोग गरेबापतको भाडा तिरेका छैनन् । ढकालले दमक– ७ स्थित पशुहाट परिसरमा रहेको नगरपालिकाको दुईतले पक्की भवनमा होटेल सञ्चालन गरेका थिए । नगर प्रमुख रामकुमार थापानिकट ढकालले नगरपालिकाको भवन प्रयोग गरेर होटेल सञ्चालन गरेबापत चार लाख ७६ हजार रुपैयाँ भाडा नतिरेका हुन् ।

१ फागुन ०८० मा नगरपालिकाको संरचनामा आनन्द होटेल सञ्चालन गर्ने भनेर ढकालले श्रीमती अम्बिकादेवी पाठकको नाममा नगरपालिकासँग सम्झौता गरेका थिए । सम्झौताअनुसार पहिलो र दोस्रो वर्ष चार लाख आठ हजार पाँच सय रुपैयाँ, तेस्रो वर्ष चार लाख ४९ हजार ३५० रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा बढ्ने सर्त थियो । त्यति मात्र होइन, उनले भाडामा लिएपछि नगरपालिकाले दुईतले भवनमा मर्मतसम्भारका लागि नौ लाख ५१ हजार ४२ रुपैयाँसमेत खर्च गरिसकेको छ । ढकालले भने भाडासमेत तिर्न अटेर गरिरहेका छन् । सम्झौताअनुसार उनले ०८३ माघ मसान्तसम्म त्यहाँ होटेल सञ्चालन गर्न पाउने थिए । तर, समयमा भाडा नतिरेपछि दमक नगरपालिकाले १ साउनबाट उनीसँगको सम्झौता रद्द गरिसकेको छ ।

सम्झौताअनुसारको रकम तिर्न पटक–पटक ताकेता गरेर पत्र लेख्दा पनि ढकालले सम्झौताबापतको रकम नतिरेको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए । भाडाबापतको पैसा नतिरेपछि गत असार अन्तिमबाट सम्झौता रद्द गर्ने कार्यपालिकाले निर्णय गरेको उनले बताए । ‘हामीले पाँच–सातवटा पत्र काटेका छौँ । तर, उहाँले भाडा तिर्न अटेर गर्नुभयो । अहिलेसम्म बाँकी रहेको रकम आएको छैन,’ उनले भने, ‘साउन १ गतेदेखि हामीले सम्झौता रद्द गरेका छौँ । उक्त संरचना हामीले नै जिम्मा लिने निर्णय भएको छ । उहाँले भाडा तिर्ने विषयमा लिखित जवाफ दिनुभएको छैन । तर, मौखिकचाहिँ तिर्ने भन्नुभएको छ ।’

ढकालकी श्रीमती अम्बिकादेवीले ११ जेठमा दमक नगरपालिकाले संरचना मर्मत नगरिदिँदा बर्खामा पानी जम्ने, ग्रिल नभएको, झ्याल नलागेको भन्दै सञ्चालनमा कठिनाइ भएको पत्र लेखेकी थिइन् । ढकाल र दमक नगर प्रमुख थापा राप्रपामा छन् । थापा राप्रपा कोशी प्रदेश अध्यक्ष र ढकाल युवक संगठन झापाका उपाध्यक्ष हुन् । स्रोतका अनुसार मेयर थापाको फेसबुक पेज ‘राम थापा मेयर, दमक’ ढकालले नै चलाउने गरेका छन् । 

ढकालले नगरपालिकाले असहयोग गर्दा होटेल सञ्चालन गर्न नसकिएको बताए । उनले सरकारी संरचनामा सञ्चालन भएको होटेलमा दमक नगरपालिकाले कार्यक्रम नगरी बाहिरका अन्य होटेलमा गर्दा होटल सञ्चालनसमेत हुन नसकेको बताए । अहिले अप्ठ्यारो अवस्था भएका कारण भाडा तिर्न नसकिएको उनको भनाइ छ ।

‘मैले गत पुसमै होटेल बन्द गरेको छु । होटेल सञ्चालन गर्न नसक्दा भाडा तिर्न कठिनाइ भयो,’ ढकालले भने, ‘अहिले दिन सक्ने अवस्था छैन । दमक नगरपालिकाले त्यहाँ रहेको सामानबाट असुल्ने भनेर मलाई पत्र पठाएको छ । मैले चाबी जिम्मा लगाइसकेको छु ।’ दमक नगर प्रमुख थापाले भने ढकालबाट भाडाबापतको रकम असुलउपर गरिने बताए ।