
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताएका छन् ।
नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार नगरकोट भ्रमण वर्ष ०८२ को अवसरमा निर्माण गरिएको नगरकोटको वृत्तचित्र हस्तान्तरण कार्यक्रममा सिइओ जोशीले निजी क्षेत्रको अग्रसरतामा विकास भएको लोकप्रिय पर्यटनस्थल नगरकोटलाई पुन: ब्रान्डिङ गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गरिने प्रतिबद्धता जनाए ।
सिइओ जोशीले भने, ‘होटेल व्यवसायीको आपसी प्रतिस्पर्धाबिच पनि सहकार्यमा आधारित उत्कृष्ट नमुना पर्यटकीय गन्तव्यका रूपमा नगरकोट स्थापित छ । आज जुन सहकार्यमा वृत्तचित्र बनेको छ, यसलाई हामीले अन्तर्राष्ट्रिय मञ्चमा विदेशी पर्यटकलाई विभिन्न इभेन्ट्समा प्रदर्शन गर्नेछौँ ।’
नगरकोटमा निजी क्षेत्रले राम्रो लगानी गरेको र सडक सञ्जाल पनि राम्रो भइसकेको उल्लेख गर्दै जोशीले नगरकोट जाने पर्यटकको गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने बताए ।
नगरकोटका ठुला होटेल क्लब हिमालय, होटेल कन्ट्री भिल्ला, होटेल मिस्टिक माउन्टेन, काभ्या हिमालयाज, सोल्टी तायो रिसोर्टको सहकार्यमा ‘बियोन्ड सनराइज, सनसेट एन्ड दी हिमालय’ शीर्षकमा तयार गरिएको वृत्तचित्र नेपाल पर्यटन बोर्ड, नगरकोट भ्रमण वर्ष ०८२ र नगरकोट नाल्दुम पर्यटन विकास समितिलाई हस्तान्तरण गरिएको हो ।
नगरकोटका ऐतिहासिक स्थल, प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनालाई समेटेर तयार पारिएको वृत्तचित्रले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने क्लब हिमालयका सञ्चालक योगेन्द्र शाक्यले विश्वास व्यक्त गरे ।