
अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने यात्रुको कागजात शंकास्पद भेटिए सिधै प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भिजिट भिसा प्रणालीलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले यस्तो कदम चालिएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए । उनले भने, ‘भिजिट भिसामा विदेश जान चाहने यात्रुले प्रयोग गरेका कागजातमा शंका लागे अब सिधै प्रहरीलाई जिम्मा लगाउने निर्णय गरिएको छ । यसले भिजिट भिसा प्रणालीलाई सहज र प्रभावकारी बनाउनेछ ।’
यसअघि शंकास्पद कागजात पेस गरी प्रस्थान गर्न खोज्ने यात्रुको भ्रमणलाई रोक्ने काम मात्रै हुँदै आएको थियो । बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रदान गर्ने निकाय अध्यागमन कार्यालय, नेपाल प्रहरी, सिआइबी, सशस्त्र प्रहरी बल, अनुसन्धान विभाग, नेपाल नागरिक उड्यन प्राधिकरण, ग्राउन्ड ह्यान्डलिङको अधिकार पाएको नेपाल वायुसेवा निगम र विभिन्न वायु सेवा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।