
संखुवासभा सदरमुकाम खाँदबारीमा स्व. नरबहादुर-विष्णुमाया सेभेन ए साइड फुटसल प्रतियोगिता हुने भएको छ। ‘स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित बिहानी फुटसल क्लबको आयोजनामा ३० र ३१ साउनमा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिताबारे जानकारी दिन बुधबार खाँदबारीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। सो क्रममा प्रतियोगिताका विजेताले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीयले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनलिस्ट दुई टिमले नगद तीन हजार पाँच सय रुपैयाँ र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कार्यवाहक अध्यक्ष श्याम राईले जानकारी दिए ।
सूर्य आवासीय माध्यमिक विद्यालयको फुटसल ग्राउन्डमा आयोजना गरिने प्रतियोगिताका तीन विधाका उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ।
खेल क्षेत्रमार्फत पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षासहित आर्थिक मन्दी हटाउन र बजारलाई चलायमान बनाउन प्रतियोगिताको महत्त्वपूर्ण हुने क्लबको भनाइ छ । क्लबले यसअघि पनि विभिन्न प्रतियोगिता आयोजना गर्नुका साथै आपतविपत् तथा समस्यामा परेका व्यक्ति तथा परिवारलाई सकेको मानवीय सहयोगसमेत गर्दैआएको जनाएको छ।