
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको प्रवद्र्धननबाटै रोजगारी सृजना गर्न सकिने बताएका छन् । लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरूको प्रयोग गर्न आह्वान समेत गरेका छन् ।
‘हामीले प्रयोग गर्ने अधिकांश कपडा स्वदेशमा बनेका होइनन् । म सबैलाई आह्वान गर्न चाहन्छु, हाम्रा दिदीबहिनी तथा दाजुभाइहरूले स्वदेशमै, लुम्बिनी प्रदेशमै उत्पादन भएका सामग्रीहरू प्रयोग गर्नु होस्’ उनले भने ।
लुम्बिनी प्रदेशमा मात्र होइन, देशका कुना–कुनामा यहाँ उत्पादन भएका कपडाहरूको बजार विस्तार गर्न पनि मुख्यमन्त्री आचार्यले जोड दिए । ‘उद्यमी तथा व्यवसायीको साथमा सरकार छ । घरमा बेरोजगार भएर बस्ने होइन, स्वरोजगार बन्न तालिम लिने, खाली समयको सदुपयोग गर्दै उत्पादनमा जोडिन आवश्यक छ,’ उनले भने, ‘यो उद्योगले उत्पादन खरिद गर्नेछ र श्रमको मूल्य पनि उद्योगले नै दिनेछ ।’
व्यवसायी कृष्ण खनालले कपडा उद्योग स्थापना गरेका हुन् । उक्त उद्योगमा हाल स्थानीय ३० महिला तथा पुरुषले रोजगारी पाएका छन् । स्थानीय सामाग्री प्रयोग गरी कपडा बुन्ने तान निर्माण गरिएको र महिलाहरूलाई तालिम प्रदान गरी उद्योगमा रोजगारी दिइएको उद्योग सञ्चालक खनालले जनाकारी दिए । महिलाले धोती, सारी, ब्लाउज, सलजस्ता सामग्रीहरू बुन्दै आएका छन् ।