
पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँमा पहिरो खसेको छ ।
सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुंगासहितको पहिरो खसेकाले सोमबार साँझदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताए । तिनाउ गाउँपालिका– ३, दोभान प्रहरीचौकीनजिक पहिरो खसेको छ । निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।
सोमबार पहिरो पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याए पनि रातिदेखि पुनः सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँचीलगायत स्थानबाट गुडेका सवारीसाधन बाटोमै थन्किएका छन् । विभिन्न ठाउँमा पहिरो र ढुंगा खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।