
राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र तयार पार्ने नयाँ मोडालिटीका कारण नतिजा सुधार भएको जनाएको छ। नतिजा सार्वजनिक गर्ने क्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले ०७८ देखि भएको पाठ्यक्रम परिमार्जन र सोहीअनुसारको प्रश्नपत्र निर्माण भई त्यसमा विद्यार्थी अभ्यस्त भएपछि नतिजा सुधार भएको बताए।
‘गत वर्षभन्दा ९ प्रतिशतले नतिजा सुधार भएको छ, सबैभन्दा बढी त विद्यार्थीहरूले पढ्ने वातावरण अघि बढाए, पठनपाठन राम्रो भयो, पालिकाहरूले पनि यसमा मेहनत गरेका छन्, परीक्षाका तरिकाहरूमा पनि केही फरकपना आयो,’ शर्माले भने, ‘०८७ देखि लागू भएको नयाँ पाठ्यक्रम र नयाँ प्रश्नपत्रको मोडालिटीमा विद्यार्थी बिस्तारै अभ्यस्त हुँदै गए, साथै प्रश्नपत्र निर्माणमा पनि धेरै परिवर्तन भएको छ, प्रश्नपत्र निर्माण गर्दा हामीले एक हजार ३ सय शिक्षकलाई तालिम दिएका थियौँ। सोही कारण पनि नतिजामा सुधार भयो।’
पाँच लाख १० हजार विद्यार्थी सहभागी भएको परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड हुँदा ६१ हजारभन्दा बढी विद्यार्थी अनिवार्य अंग्रेजीमा ननग्रेडेड भएका छन्।