मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
२o८२ श्रावण १९ सोमबार १४:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बारामा ट्रकको ठक्करबाट एकको मृत्यु, चार दिनपछि चालक नियन्त्रणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार १४:२o:oo

बाराको निजगढ नगरपालिका– ८ स्थित तामागढीमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएपछि फरार रहेका ट्रकचालकलाई प्रहरीले चार दिनपछि नियन्त्रणमा लिन सफल भएको छ ।

गत साउन १३ गते राति करिब ११ बजेको समयमा पूर्व–पश्चिम लोकमार्गमा चितवनबाट बाराको कोल्हवी आउने क्रममा रात्रिबसबाट निजगढ नगरपालिका– ८ स्थित तामागढीमा बसबाट झरी कोल्हवीतर्फ जानेक्रममा पूर्व–पश्चिम लोकमार्गको उत्तरतर्फबाट दक्षिणतर्फ बाटाे काट्ने क्रममा पूर्व रौतहटबाट वीरगन्जतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट कोल्हवी नगरपालिका–५ का २० वर्षीय समीर चौधरीलाई तत्काल अज्ञात गाडीले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि वीरगन्जस्थित एसएल न्युरो अस्पताल पुर्‍याइएको थियो । तर, भोलिपल्ट साउन १४ गते दिउँसो ४ बजे उपचारकै क्रममा उनको मृत्यु भयो।

दुर्घटनापछि घटनास्थलबाट फरार भएको सवारीसाधनको पहिचान तत्काल हुन सकेन । तर, इलाका प्रहरी कार्यालय निजगढले घटनाको अनुसन्धानलाई तीव्रता दिँदै राजमार्ग भएर गुड्ने सवारीसाधन र चालकहरूको विवरण संकलन गर्न थाल्यो।

प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार दर्जनौँ गाडीका चालकहरूलाई सोधपुछ गरेर सिसिटिभी फुटेज, मोबाइल लोकेसन र स्थानीय साक्ष्यहरूको अध्ययनका आधारमा प्रहरीले उक्त ठक्कर को.१ख ७८०८ नम्बरको ट्रकबाट भएको पुष्टि गरेको हो ।

अनुसन्धानको क्रममा सो ट्रक वीरगन्जका चालक सन्दीपकुमार भण्डारी रहेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । प्रहरीले ट्रकलाई मर्मत गर्दै गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउपछि आइतबार जिल्ला अदालत कलैयाबाट चालक भण्डारीमाथि सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ । प्रहरीले अब दुर्घटनाको कारण, चालकको लापरबाहीको अवस्था, ट्रकमालिकको संलग्नता र क्षतिपूर्तिका विषयमा थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रहरी निरीक्षक लामिछानेले भने, ‘घटना राति भएकाले घटना भएपछि आएका बसले घटनाको जानकारी दिएको थियो । बस्तीभन्दा बाहिर सिसिटिभीसमेत नभएको स्थानमा भएको घटनाबारे अनुसन्धान गर्न निकै कठिन थियो । घटनालगत्तै ट्रक र चालक फरार भएका कारण अनुसन्धान चुनौतीपूर्ण बनेको थियो । तर, प्रविधिको प्रयोग र गम्भीर अनुसन्धानको कारण चार दिनभित्रै ट्रक र चालक पत्ता लगाउन सफल भयौँ ।’

समीर चौधरीको मृत्युपछि पीडित परिवारले दोषी पहिचान गरी कानुनी कारबाहीको माग गर्दै प्रहरी प्रशासनसँग भेटघाटसमेत गरेको थियो।

हाल घटनासँग सम्बन्धित ट्रक निजगढ प्रहरीको नियन्त्रणमा छ भने चालक भण्डारीमाथि मुलुकी फौजदारी संहिताअनुसार लापरबाहीपूर्वक सवारी सञ्चालन गरी ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरिने जनाइएको छ।