मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
Invalid date format o७:४९:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रवीन्द्रले रचे इतिहास : एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर

भारतीय फाइटर चुनरेङ कोरेनलाई तेस्रो राउन्डमा नेपालका रवीन्द्र ढाटले ५४ सेकेन्डमै नकआउट गरे

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४९:oo

नेपालका रवीन्द्र ढाट म्याट्रिक्स फाइट नाइट १७ जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । रवीन्द्रले शनिबार राति भारतीय फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरण नकआउट पार्दै ऐतिहासिक बान्टमवेट च्याम्पियनसिप उपाधि जितेका हुन् । भारतको नोयडामा भएको उपाधि भिडन्तको दोस्रो चरणसम्म रवीन्द्र पछाडि थिए । तेस्रो चरणमा आक्रामक रूपमा प्रस्तुत हुँदै उनी भारतीय खेलाडीलाई केवल ५४ सेकेन्डमै नकआउट पार्न सफल भए । 

ऐतिहासिक जित हात पारेका रवीन्द्रले नेपालको झन्डा रिङमा फहराउन पाउँदा खुसी लागेको बताए । ‘नेपालको झन्डा काँधमा बोकेर आएको थिएँ । त्यो झन्डालाई रिङमै फहराउन पाएको छु,’ खेलपछि उनले भने, ‘विजयोत्सवमा सहयोग गर्ने सबैलाई धन्यवाद ।’ रिङको एक कुनामा रवीन्द्रको एक शक्तिशाली पन्च लाग्दा कोरेन ढलेका थिए । उनी उठ्न नसकेपछि रेफ्रीले रवीन्द्र च्याम्पियन बनेको घोषणा गरेका थिए । बझाङमा जन्मेका रवीन्द्रको प्रोफेसनल रेकर्ड ८–१ पुगेको छ ।

भारतको म्याट्रिक्स फाइटमा कोरेनलाई रणनीतिक र आक्रामक पावरका फाइटरका रूपमा लिने गरिन्छ । भारतीय समर्थकले उनलाई ‘दी इन्डियन राइनो’ उपनाम दिएका छन् । उपाधि रक्षा गर्ने रणनीतिअनुरूप कोरेनले रवीन्द्रलाई पहिलो तथा दोस्रो राउन्डमा दबाबमा राखे । नेपाली फाइटरले शान्त संयोजन र चलाखीपूर्ण रणनीतिका साथ विपक्षीको आक्रमणको उत्तर दिइरहेका थिए । 

दोस्रो चरण सकिँदासम्म कोरेनले उपाधि जित्न अपेक्षा थियो । तर, तेस्रो राउन्डमा नाटकीय नतिजा निस्कियो । रवीन्द्रले तीव्र गतिमा प्रहार गर्न थालेपछि कोरेन संकटमा परेका थिए । यस राउन्डमा भारतीय खेलाडीले डिफेन्स र रवीन्द्रले एकपछि अर्को शक्तिशाली प्रहार गरिरहेका थिए । निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके । त्यसपछि उनले नेपाली फाइटरलाई टिकेओका आधारमा विजेता घोषित गरेका हुन् । नतिजासँगै रवीन्द्रले भारतीय खेलाडीविरुद्धको लगातार हारको शृंखला तोडेका छन् । उनले प्रतियोगिता जित्दै एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका छन् ।

उपाधि प्रशिक्षकप्रति समर्पित
रवीन्द्रको ऐतिहासिक सफलताको यात्रामा उनका प्रशिक्षक दिविज पिया लामाको योगदान उत्तिकै छ । नेपाली मिक्स्ड मार्सल आर्टस् (एमएमए) फाइटर रवीन्द्रलाई नोयडासम्म पुर्‍याउन लामाले पर्दापछाडि भूमिका निर्वाह गरेका थिए । प्रशिक्षकले सही मार्गदर्शन नदिएको भए आफू यहाँसम्म नपुग्ने रवीन्द्रले बताए । यसकारण नै उनले एमएफएन उपाधि प्रशिक्षक लामाप्रति समर्पित गरेका छन् । 

‘काठमाडौं गएदेखि मलाई दिविज दाइले धेरै सपोर्ट गर्नुभयो । उहाँले कसरी, कहाँ कम्पिट गर्ने हो, कसरी स्पोन्सर ल्याउने, कोसँग ट्रेनिङ गर्ने सबै सिकाउनुभएको हो,’ रवीन्द्रले भने, ‘यतिवेला मसँग दाइलाई बयान गर्ने शब्द छैन, लभ यु दाइ ।’ यसैगरी उनले आफूलाई मोटिभेट गर्दै आएका सिसन बानियाँलाई पनि सम्झिएका थिए । ‘सिसन दाइ धन्यवाद, तपाईंले धेरै सहयोग गर्नुभयो,’ उनले भने । रवीन्द्र र कोरेनबिचको फाइट हेर्न बलिउड अभिनेता ज्याकी श्राफ पनि पुगेका थिए । उपाधि विजेता फाइटरले ज्याकीलाई धन्यवाद दिन बिर्सेनन् । ‘एमएफएनमा आउनुभएकोमा ज्याकी श्राफलाई धन्यवाद । उहाँले मेरो फाइट हेर्नुभयो, मलाई बोलाउनुभयो,’ उनले भने, ‘म तीन वर्षदेखि यहाँ आउन प्रयास गरिरहेको थिएँ ।’ 

 कोरेनको घमन्ड चकनाचुर 
फाइनलका दिन कोरेनले एक अन्तर्वार्तामा रवीन्द्रलाई सामान्य फाइटरका रूपमा लिएको प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘रवीन्द्र मेराअगाडि बच्चै हो, लड्न नआए राम्रो । म उसको दिमागै निकालिदिन्छु ।’ तर, रवीन्द्र रिङमा भारतीय फाइटर कोरेनका सबै घमन्ड तोड्न सफल भए । नोयडाको इन्डोर रंगशालामा थोरै संख्यामा नेपाली समर्थक थिए । कोरेनको पक्षमा सयौँ भारतीय समर्थकले उत्साह दिइरहेका थिए । 

पाँचमध्ये दुई राउन्डसम्म हलभित्र कोरेनको समर्थनमा हुटिङ भइरहेको थियो । रवीन्द्रका समर्थक भने उनलाई हौस्याउन प्यारापिटमा नेपालको झन्डा लिँदै ‘रवीन्द्र... रवीन्द्र’ भन्दै चिच्याइरहेका थिए । जब टिकेओका आधारमा रवीन्द्र विजेता घोषित भए, त्यसपछि हलको माहोल नै परिवर्तन भयो । एकाएक हलमा नेपाली फाइटरको नाम गुन्जियो । एक किसिमले इन्डोर हलमा विजयोत्सवको माहोल बन्यो । पिजरमाथि नेपाली झन्डा फहराइएको थियो । उपाधि भिडन्तका कमेन्टेटरहरूले नेपाली फाइटरको जितलाई ‘ऐतिहासिक र सनसनी’ भनिरहेका थिए । भारतीय फाइटर भने रिङको कुनामा बसेर टोलाइरहेका थिए । सम्भवतः उनलाई आफ्नो हार विश्वास गर्न गाह्रो भएको थियो । 

बझाङदेखि म्याट्रिक्स फाइटको यात्रा
सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङमा रवीन्द्रको जन्म भएको थियो । सानै उमेरदेखि उनी केही गरी आफूलाई चिनाउन चाहन्थे । यद्यपि, उनको औपचारिक शिक्षा १० कक्षासम्म रह्यो । उनले अन्ततः रोजगारीको अवसरको खोजीमा भारत जाने निर्णय गरे । भारतमा मजदुरी गरिरहँदा आफ्नो दैनिकीसँगै उनलाई मार्सल आर्टस् (एमए) जिमले आकर्षित गरेको थियो । उनी यस खेलमा आकर्षित भए । 

‘मलाई मेरो उचाइ रामोसँग थाहा थियो । भारतमा रहँदा फाइटबाट हुने फाइदाबारे जान्ने अवसर पाएँ । यो केवल शारीरिक रूपमा बलियो हुनु मात्र होइन मानसिक रूपमा अनुशासित हुनुपर्ने खेल हो,’ रवीन्द्रले केही समयअघि भनेका थिए । भारतमा लिएको प्रशिक्षणको भरमै उनले सन् २०१९ मा प्रतियोगितामा भाग लिने तयारी गरे । त्यसवेला उनको उमेर १८ वर्षको थियो । उनले एमएमए एमेच्योर राष्ट्रिय च्याम्पियनसिपमा भाग मात्र लिएनन्, उपाधिसमेत जिते ।

नेपाली मूलका फाइटरले उपाधि जित्दा आयोजकको आलोचना भएको थियो । पहिलो व्यावसायिक फाइट उपाधि जितेपछि उनी काठमाडौं फर्किए । यहाँ नियमित प्रशिक्षण र अभ्यासका लागि उपयुक्त जिमको खोजी गर्न थाले । रवीन्द्रले ललितपुरको सातदोबाटोमा बक्सिङ अभ्यास गरेका थिए । बक्सिङ प्रशिक्षणका क्रममा उनले कराँते अभ्यास गर्ने साथीहरू बनाए ।

कराँतेका साथीले उनलाई झम्सीखेलको पम्प जिममा मुई थाईका अनुभवी प्रशिक्षक दिविज पिया लामासँग प्रशिक्षण लिन सुझाव दिए । लामाले रवीन्द्रलाई भविष्यकै एक राम्रा फाइटर बन्ने सक्ने लक्षण अनुभव गरेका थिए । प्रशिक्षणका क्रममा रवीन्द्रलाई भारतमा लड्ने प्रस्ताव आयो । त्यहाँ उनले उपाधि जिते । भारतबाट फर्केपछि उनले आफ्नो प्रशिक्षण जारी राखे । यसपटक उनले स्ट्राइकिङ र ग्राउन्ड खेलमा ध्यान दिएका थिए । प्रशिक्षक लामाकै सहयोगमा उनले थाइल्यान्डमा अन्तर्राष्ट्रियस्तरमै प्रशिक्षण गर्न अवसर पाए । 

प्रशिक्षकको अन्तर्राष्ट्रिय सम्बन्धका कारण उनले थाइल्यान्डमा वान च्याम्पियनसिप लिगमा लड्ने मौका पाए । उनले वान च्याम्पियनसिपमा आफ्नो पहिलो फाइटमा रूसी फाइटरलाई नकआउट गरेका थिए । त्यही फाइटबाटै नेपाली फाइटर पनि एमएमएका राम्रा खेलाडी भएको सबैले विश्वास गरे । केही वर्षअघि नेपालमा वारियर्स च्याम्पियनसिप भएको थियो । उनले आफ्नो प्रतिद्वन्द्वीका रूपमा अस्ट्रेलियालीलाई पाएका थिए । उनले यसपटक पनि सहजै विपक्षीलाई हराए । उनले इन्डोनेसियाको बालीमा सोमा फाइटर क्लबमा प्रतिस्पर्धा गरेका थिए । लगातार एमएमए च्याम्पियनसिपमा सहभागी भएका रवीन्द्रले शनिबार राति आफ्नो करिअरकै महत्वपूर्ण उपाधि हात पार्न सफल भएका छन् ।

उपाधि जितेपछि रवीन्द्र ढाट भन्छन् –  नेपालको झन्डा काँधमा बोकेर आएको थिएँ, त्यो झन्डालाई रिङमै फहराउन पाएको छु, काठमाडौं गएदेखि मलाई दिविज दाइले धेरै सपोर्ट गर्नुभयो,  उहाँले कसरी, कहाँ कम्पिट गर्ने हो, कसरी स्पोन्सर ल्याउने, कोसँग ट्रेनिङ गर्ने सबै सिकाउनुभएको हो