
सिराहाको गोलबजार नगरपालिका– ५, निपनिया मलहाटोलमा खानेपानी थाप्न गएकी महिलामाथि कुटपिटसहित दुर्व्यवहार भएको छ।
खडेरीले घरमा रहेको खानेपानीको कल सुकेपछि पानी थाप्न गएकी स्थानीय करिब ३५ वर्षीया ममताकुमारी मुखियालाई बिहीबार बिहान करिब ६ बजेतिर स्थानीय कपिल साह र उनका छोराहरूले कुटपिटसहित दुर्व्यवहार गरेका हुन्।
साहले घरछेउमै विद्युतीय मोटरबाट पानी तानेर आफ्नो खेतमा लगाइरहेका वेला खाना पकाउने पानी थाप्न गएकी मुखियालाई ‘मेरो निजी खर्चमा चलाएको मोटरमा किन पानी थाप्न आएको ?’ भन्दै कुटपिट गरेको स्थानीय मञ्जु सदायले बताइन्।
‘पानीजस्तो नभइनहुने वस्तु, त्यसमा पनि खडेरी छ,’ उनले भनिन्, ‘एक बाल्टिन पानी थाप्न जाँदा गालीगलौज गर्दै कुटपिट नै गरे।’ कुटपिटबाट टाउको, अनुहारमा चोटपटक लागेकी मुखिया रुँदै–कराउँदै घर आएपछि तत्काल छिमेकीहरूले उपचारका लागि सिराहा प्रादेशिक अस्पताल पुर्याएको स्थानीय सदायले बताइन्।
‘विद्युतीय मोटर चलाउँदा घरको हातेकल सुकेकाले राति चलाउनुस् मात्र भनेकी थिएँ,’ पीडित मुखियाले भनिन्, ‘उल्टै मुखमुखै लाग्छेस् भन्दै बाबुछोरा मिलेर कुटे।’
पीडित मुखियाले खडेरीका वेला घरमा पिउनसमेत नभएपछि पानी लिन जाँदा कुटपिट र दुर्व्यवहार गरेका बाबुछोराविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलमा उजुरी दिएकी छिन्। घटनाको विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।