
हेटौँडामा आठौँ संस्करणको कोरा साइकल र्याली हुने भएको छ। सन् २०१८ देखि निरन्तर रूपमा साइकल महोत्सव गर्दै आएको हेटौँडा राइडर्स क्लबले यही शनिबार र्याली हुने जनाएको छ।
‘दिस इज नट अ रेस, एभ्रिवन इज अ विनर’ भन्ने नाराका साथ आयोजना हुन लागेको र्यालीको सम्पूर्ण तयारी पूरा भएको राइडर्स क्बलका अध्यक्ष विकास ताम्राकारले जानकारी दिए। उनका अनुसार र्यालीले स्वच्छ वातावरण र हरियाली प्रवर्द्धनका साथै हेटौँडालाई साइकलमैत्री सहर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
अध्यक्ष ताम्राकारले र्यालीमा १२ वर्षभन्दा माथिका जो–कोही साइकलप्रेमी सहभागी हुन सक्ने जानकारी दिए। यसपटकको र्यालीमा चितवन, बारा, पर्सा, काठमाडौंलगायत विभिन्न जिल्लाबाट करिब ३ सयभन्दा बढी राइडरको सहभागिता रहने अपेक्षा गरिएको छ। हालसम्म २५० जनाले नाम दर्ता गराएका अध्यक्ष ताम्राकारले बताए।
हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिरपरिसरबाट बिहान ७ बजे सुरु हुने र्याली विभिन्न धार्मिक र पर्यटकीय स्थलको परिक्रमा गर्दै बुद्धचोकमा समापन हुनेछ। र्यालीमा सहभागी हुन इच्छुकले तीन सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्न सक्ने बताइएको छ। र्यालीमा सहभागीहरूलाई निःशुल्क जर्सी उपलब्ध गराइने आयोजकले जनाएको छ।
हाल हेटौँडा राइडर्स क्लबमा ५ सय सदस्य आबद्ध छन् भने मकवानपुर जिल्लामा करिब ६ हजार साइकल राइडर रहेको क्लबको दाबी छ। क्लबले हेटौँडालाई साइकलमैत्री सहरको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको छ।