
नियमित पानी परेकाले डेंगु संक्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।
विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोतव्यक्ति ऋषि भुसालले जानकारी दिए ।
डेंगुबाट कोही संक्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको पनि भुसालले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको वर्षायाममा विगतका वर्षमा भन्दा बढी पानी पर्ने भनेपछि डेंगुको जोखिम झन् बढ्ने महानगरले जनाएको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ–आफ्नो टोलटोलमा पानी जमेको स्थानको सरसफाइसमेत गरिरहेका छन् ।
डेंगु रोग नियन्त्रण गर्नका लागि सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । महानगरका ३२ वटै वडामा रहेका सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
डेंगुको मुख्य लक्षण
डेंगु संक्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछन् ।
टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जमेको दाग देखापर्नेलगायत लक्षण रहेको भुसालले जानकारी दिए । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्नेछ ।
डेंगुबाट बच्न घरवरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै वेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने, काम नलाग्ने र पानी भरिन सक्ने सामानजस्तै बोतल, टायर, प्लास्टिकका वस्तु पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने, पानीट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेट राम्ररी सफा गर्नेलगायत उपाय अपनाउन महानगरको आग्रह छ ।