
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङ्गे झरनामा यतिखेर आन्तरिक पर्यटकको उपस्थिति बढेको छ । प्राकृति रुपमा मनमोहक झरना आसपासको दृश्यमा रम्न र बिदा मनाउन जानेहरूका कारण यस क्षेत्रमा पछिल्लो समय चहलपहल बढेको छ ।
चारैतिर हरियाली र पहाडबिचबाट बग्ने फुङफुङ्गे झरना १८० मिटर लामो छ । झरनाको पानीले करिब एक सय मिटर वरपरसम्म पुरै भिज्ने गर्छ । भिज्नकै लागि समेत पर्यटकहरू यहाँ आउने गरेको स्थानीयको भनाइ छ ।
जङ्गलको बिचमा र ढङ्ढङ् गर्दै पानी झर्ने भएकाले यसको नाम स्थानीयले फुङफुङ्गे झरना राखेका हुन् । पालिकाका उपाध्यक्ष डण्डु शेर्पाका अनुसार झरनामा जिल्लाका विभिन्न क्षेत्रका अलावा पाँचथर, तेह्रथुमलगायत जिल्लाबाट समेत पर्यटक आउने गरेका छन् ।
पर्यटक आगमनसँगै स्थानीय उत्पादन मह, तरकारी तथा लोकल मकैको ढिँडो, गुन्द्रुकलगायतको व्यापार समेत बढेको स्थानीय व्यवसायीको भनाइ छ । झरना अवलोकनको रमाइलोसँगै स्थानीय मौलिक खानाले झरनासम्म पुग्नेको यात्रा अविस्मरणीय बनाएको स्थानीय व्यवसायी कुलप्रसाद साँबाले बताए । ताप्लेजुङ सदरमुकामदेखि ५० किलोमिटर टाढा रहेको उक्त झरनामा पुग्न झापाको बिर्तामोड, इलाम, पाँचथरहुँदै बहानन्देबाट हादु्रङ, खोक्लिङहुदै पुग्न सकिन्छ । धरान बसन्तपुर, गुफा, साँघु, सान्थाक्राहुँदै पनि झरना पुग्न सकिन्छ ।
फुङफुङे पर्यटकीय क्षेत्रका रुपमा विस्तार
यहाँ ‘फुङफुङ्गे पर्यटकीय क्षेत्र विस्तार कार्यक्रम’अन्तर्गत विभिन्न विकास निर्माण समेत भइरहेका छन् । झरनाको तल्लो भागमा पौडी पोखरी निर्माण, पक्की सडकदेखि झरनासम्म पुग्न सिँढी (फुटट्रेल) बनाइएको छ । यसका लागि पहाडी निर्माण सेवाले २ करोड ४६ लाखको ठेक्का लिएर काम गरिरहेको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले बताए । उनले पर्यटकका लागि विश्राम स्थल बनाउने काम गरिरहेको समेत जानकारी दिए । धार्मिक तथा पर्यटकीयस्थल भएकोले पर्यटकलाई नुहाउन १०८ धारा निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले बताए ।