
सप्तरीको राजविराजमा जारी सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिगको फाइनलमा राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स प्रवेश गरेका छन्।
निरन्तर वर्षाका कारण बुधबारका दुवै सेमिफाइनल खेल रद्द हुँदा समूह चरणमा दुई समूहका विजेता टिम फाइनल प्रवेश गरेका हुन्। उपाधिको लागि रोयल र डिफेन्डिङ च्याम्पियन समेत रहेको टाइगर्स बिहीबार प्रतिस्पर्धा गर्ने छन्।
राजविराज राजदेवी रोयल र खडक वारियर्सबिचको आजको पहिलो सेमिफाइनल तथा तिरहुट टाइगर्स र कन्चनरुप राइनोजबिचको दोश्रो सेमिफाइनल खेल वर्षाका कारण सम्भव हुन सकेन। दुवै खेलको टस समेत हुन सकेन।
आठ टिम सहभागी प्रतियोगिताका टिमहरुलाई दुई समूहमा बिभाजन गरिएको थियो। समुह ए को विजेताको रुपमा ३ खेलमा ५ अंकसहित राजविराज राजदेवी रोयल सेमिफाइनल प्रवेश गरेको थियो।
यस्तै, समुह बि बाट ३ खेलमा ६ अंकसहित समूह विजेताको रुपमा तिरहुट टाइगर्स सेमिफाइनल प्रवेश गरेको थियो। समुह ए बाट ३ खेलमा ४ अंक बटुल्दै समूह उपविजेताको रुपमा कन्चनरुप राइनोज तथा समुह बि बाट ३ खेलमा ४ अंक बटुल्दै समूहको उपविजेताको रुपमा खडक वारियर्स सेमिफाइनल प्रवेश गरेको थियो।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले दुई लाख तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।