मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १८:२९:oo
Read Time : > 1 मिनेट
समाचार

किमाथांकामा नेपाल–चीन व्यापार महोत्सव गर्न अन्तर्क्रिया

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

संखुवासभाको उत्तरी सिमानाका किमाथांकामा नेपाल–चीन व्यापार महोत्सव गर्नेबारे सरोकारवालासँग अन्तर्क्रिया सम्पन्न भएको छ। सदरमुकाम खाँदबारीमा आज अन्तर्क्रिया आयोजना गरिएको हो ।

खाँदबारी सेवा समाज र संखुवासभा उद्योग वाणिज्य संघको आयोजनामा नेपाल–चीन व्यापार महोत्सवको तयारीका लागि अन्तर्क्रिया गरिएको खाँदबारी सेवा समाजका केन्द्रीय उपाध्यक्ष जीवनाथ पोखरेलले बताए। किमाथांका नाकाबाट नेपाल र चीनबिच खुला व्यापार आदानप्रदान गर्न व्यापार महोत्सव गर्ने तयारीमा जुटेको उपाध्यक्ष पोखरेलले बताए।

नेपालमा उत्पादन हुने विभिन्न जडिबुटी, खाद्यवस्तु, मासुजन्य वस्तु, भाँडाकुडा र हस्तकलाका सामान चीनसम्म खुला निर्यात गर्न पाए नेपालले धेरै लाभ लिन सक्छ । यसले संखुवासभाका साथै कोशी प्रदेश मात्रै नभएर सिंगो देशले फाइदा लिन सक्नेछ। व्यापार महोत्सवमा धेरै चिनियाँलाई किमाथांकामा सहजै आउन सक्ने वातावरण बनाउन लागि रहेका छौं,’ पोखरेलले भने।

आगामी मंसिरदेखि ढिलोमा पुससम्म किमाथांकामा नेपाल–चीन व्यापार महोत्सव गर्ने तयारी छ। उक्त व्यापार महोत्सव कार्यक्रममा नेपाल र चीनका उच्च तहका पदाधिकारीहरूको सहभागिता रहनेछ।

किमाथांका नाकालाई खुला र व्यवस्थित रूपमा आवतजावत गर्न के गर्न सकिन्छ भनेर सरोकारवालासँग अन्तर्क्रिया गरिएको हो। नाका व्यवस्थित गरि खुला आवतजावत बनाउनुपर्ने, त्यसो गरिए नेपालको अर्थतन्त्रमा टेवा पुग्ने संखुवासभा उद्योग वाणिज्य संघ संखुवासभाका अध्यक्ष डेगराज बस्नेतले बताए।

कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले नाकालाई व्यवस्थित गर्न दुवै देशका सरकार प्रमुखले चाहे सम्भव हुने बताए। 

भोटखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले किमाथांका व्यापार महोत्सव गर्न गाउँपालिकाले केही बजेट विनियोजन गरेकाले संघ र प्रदेश सरकारले समेत बजेट व्यवस्थापन गरी भोटखोला गाउँपालिका, संखुवासभा उद्योग वाणिज्य संघ र जिल्ला समन्वय समितिले संयुक्त रूपमा आयोजना गर्नुपर्ने धारणा राखेका थिए। व्यापार महोत्सव गर्न तिब्बतको घाङ्री उद्योग वाणिज्य संघसमेत सकारात्मक रहेको भोटेको भनाइ थियो।

खाँदबारी सेवा समाजको पहलमा गत चैतमा चिनियाँ राजदूतावासका कन्सुलरको उपस्थितिमा अन्तर्क्रिया गरिएको थियो । नेपाली खाद्यवस्तुहरू, मासुजन्य वस्तु, भाँडाकुँडा र जडिबुटीलगायत चिजहरू चीनतर्फ निर्यात हुने गरेको छ । सोही चिजहरूलाई व्यवस्थित ढंगले नाकाबाट खुला रूपमा किनबेच गरी आम्दानी बढाउनुपर्ने उद्देश्य रहेको बताइएको छ।

कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल, सुरक्षा निकाय प्रमुखहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको उपस्थिति रहेको थियो। प्रभावित क्षेत्र भोटखोला गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको साथै सडक, भन्सार, घरेलु, वन डिभिजन, भेटेरिनरी पशुसेवा र  उद्योगी, व्यापारी र सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरूहरूको उपस्थिति रहेको थियो ।