मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका म्याग्दी
२o८२ असार २६ बिहीबार १५:२o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

चिमखोला–राहुघाट प्रसारणलाइनको परीक्षण थालियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार १५:२o:oo

म्याग्दीको राहुघाट बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन निर्माण भएको २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारणलाइनको परीक्षण थालिएको छ । ३५ मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठुलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन चिमखोलादेखि गलेश्वरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डसम्म १३ किलोमिटर लामो प्रसारणलाइन निर्माण भएको हो ।

नेपाल विद्युत् प्राधिकरणमार्फत रघुगंगा गाउँपालिका– ३, अम्बाङमा निर्माणाधीन सबस्टेसन सम्पन्न नहुँदासम्मका लागि अस्थायी रूपमा राहुघाटको स्विचयार्डबाट २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारणलाइनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाउन लागिएको चिमखोला–मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रवर्द्धक तुँदी पावरका प्रतिनिधि उपेन्द्र गौतमले जानकारी दिए ।

चिमखोला–मंगले–राहुघाट र ठुलोखोला जलविद्युत् आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइपलगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परीक्षण भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठुलोखोला निर्माणको अन्तिम चरणमा छन् । चिमखोलादेखि गलेश्वरस्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रसारणलाइनमा विद्युत् आपूर्ति गराएर परीक्षण गराउन थालिएको तुँदीका प्रतिनिधि गौतमले जानकारी दिए । परीक्षण लगत्तै केन्द्रीय प्रणालीमा विद्युत् जोडिने उनले बताए । चिमखोलादेखि राहुघाटसम्म ३९ टावर छन् ।

चार आयोजनाले सहकार्य गरेर एउटै प्रसारणलाइनमार्फत विद्युत् आपूर्ति गर्ने संरचना बनाएका छन् । एकदेखि अर्को आयोजनाको स्विचयार्डसम्म सम्बन्धित आयोजना र त्यसपछि सबस्टेसनतर्फ सहकार्य गरेर प्रसारणलाइन बनाएका हुन् । परीक्षण सुरु भएको प्रसारणलाइनको टावर र तार नछुन तथा राहुघाट नदीकिनारमा जाँदा सतर्कता अपनाउन तुँदी पावरले आज एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आग्रह गरेको छ । रघुगंगा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रसारणलाइन र टावर निर्माण भएको छ । विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, दाउरा छोप्न नदीकिनारमा नजान तथा गाईवस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो ।