मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format २३:४८:oo
Read Time : > 1 मिनेट
समाचार

कैलाश मानसरोवर गएका तीर्थयात्री धमाधम तातोपानीबाट फर्किंदै

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format २३:४८:oo

रसुवा नाकाबाट चीन स्वशासित तिब्बतको कैलाश मानसरोवर गएका तीर्थयात्री तातोपानी नाकाबाट फर्केका छन् । कैलाश मानसरोवर जान चाहने भारतीय नागरिकलाई चीन सरकारले केरुङबाट प्रवेश अनुमति दिएको थियो । तर, मंगलबारको भीषण बाढीले टिमुरे–केरुङ सम्पर्क विच्छेद भएपछि उनीहरू तातोपानी नाकाबाट फर्किएका हुन् ।


अध्यागमन कार्यालय तातोपानी कोदारीका प्रमुख कृष्ण खनालका अनुसार बुधबारबाट भारतीय मूलका नागरिक तातोपानी नाका भएर फर्कन थालेका छन् । ‘भारतीय मूलका एनआरएनए १९८ जना बुधबार तातोपानीबाट फर्केका छन्,’ उनले भने । बाह्रबिसे–कोदारी सडकको अवस्था जीर्ण भएकाले अधिकांश तीर्थयात्रु हेलिकोप्टरबाट काठमाडौं पुगेका छन् । अमेरिका, क्यानडा, आयरल्यान्ड, मलेसिया, सिंगापुरको नागरिकताधारी भारतीय मूलका नागरिक कैलाश मानसरोवर यात्रा पूरा गरेर फर्केका छन् । रसुवा नाकाबाट असारको सुरुदेखि तिब्बत प्रवेश गरेका कैलाश मानसरोवर तीर्थयात्री तातोपानी नाकाबाट धमाधम फर्कने सूचना चिनियाँ अध्यागमनले जानकारी दिएको खनालले बताए । 

न्यालमको सडक दुई दिनभित्र बनिसक्ने 
भीषण वर्षापछि सोमबार बगाएको तिब्बतको न्यालम काउन्टी पुग्ने मुख्य सडक दुई दिनभित्र तयार हुने भएको छ । चिनियाँ सेनाले ठुला मेसिन प्रयोग गरेर सडक बनाउँदै छ । न्यालमपारि र मिम्बुमा दुई सय मिटर सडक बाढीले बगाएको थियो । सडक बन्द भएपछि खासा आउने ४० फुटे कन्टेनर ५० भन्दा बढी बिचबाटोमा रोकिएका छन् । रसुवा–केरुङ सडक बन्द भएकाले टिमुरे भन्सार भएर जाने सयजति कन्टेनर पनि न्यालम र मिम्बुमा रोकिएका छन् । सडक बन्नसाथ सबै कन्टेनर तातोपानी नाका भएर काठमाडौं पुग्नेछन् । 


वार्षिक २१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको तातोपानी भन्सारले करिब १९ अर्ब संकलन गरिसकेको छ । ‘रसुवा नाका बन्द भएकाले सबै कन्टेनर तातोपानी भएर आउँदै छन्,’ तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले भने । कोदारी सडक नियमित हुने हो भने तातोपानी भन्सारको वार्षिक लक्ष्य पूरा हुन्छ । यस वर्ष प्राकृतिक विपत्ति र कोदारी सडकको जीर्ण अवस्थाले तीन महिना राजस्व संकलन हुन नपाएको उनले बताए ।