मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Thursday, 10 July, 2025
२o८२ असार २५ बुधबार २१:२६:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट

बुटवल उपमहानगरको बजेट पारित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार २१:२६:oo

बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट पारित भएको छ । बुधबार नगरसभाको १७औँ अधिवेशनको पाँचौँ बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाखबराबरको बजेट सर्वसम्मत पारित गरेको हो।

यही १० असारमा उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको  बजेटमा चालूतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत  विनियोजन गरिएको थियो । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षमा ९५ करोड आन्तरिक आय हुने अनुमान छ।

बजेटसँगै बुटवल उपमहानगरपालिकाको सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारीसाधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, भाषा संस्कृति र ललितकलासम्बन्धी विधेयक पारित गरेको छ।

सभामा विधायन समिति, न्यायिक समिति, अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण समिति, लेखा समिति, जाँचपास तथा फरफारक समिति र सुशासन समिति प्रतिवेदन पारित भएको छ।

सभाको समापनमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवललाई समानता स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउनका लागि सबैको सहकार्य जरुरी रहेको बताए। उनले नगरलाई सफा स्वच्छ र सुन्दर नगर बनाउने उद्देश्यका साथ काम गरिरहेको बताए। उनले आगामी वर्षलाई शिक्षा, स्वास्थ्यका साथसाथै पर्यटन र कृषिलाई प्राथमिकताका साथ कार्यक्रम तय गरिएको बताए। उनले बुटवललाई भौतिक पूर्वाधार विकासमा मात्रै नभई मानव संसाधनको विकासमा समेत अग्रणी सहर बनाउने गरी योजनाहरू ल्याएको बताए।

आगामी आर्थिक वर्षमा करिब १० हजार भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने गरी बुटवल उपमहानगरपालिकाले नापजाँचमा लगानी गरेको र सोहीअनुसारको जनशक्ति परिचालन गरेको उनले बताए।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई सबल र सम्पन्न सहर बनाउनका लागि सबै क्षेत्रको साथ आवश्यक रहेको बताइन्। उनले हालसम्म भएका उपलब्धिलाई अझ परिष्कृत गर्दै अगाडि बढ्ने बताइन्।

बुटवल उपमहानगरपालिकाले ५ असारमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यअगाडि सारेको थियो।