
होटेल सञ्चालनको आडमा गाँजा तस्करी गरिरहेको आरोपमा गत १ असारमा बुधन मण्डललाई सप्तरी प्रहरीले पक्राउ गरेको थियो । बुधन पक्राउ परेपछि उनका भाइ अखिलेश मण्डलले बुधन निर्दोष रहेको र उनीहरूको परिवारले सञ्चालन गरेको होटेलबाट प्रहरीले रकम उठाउने गरेको एक सुनियोजित भिडियो सामाजिक सञ्जालमा राखेका थिए । उक्त प्रकरणमा सप्तरीका तत्कालीन एसपी ढकेन्द्र खतिवडाको नामसमेत मुछिएपछि प्रहरी संगठनले उनलाई अनुसन्धानको दायरमा ल्याएको थियो । तर, उनै २४ वर्षीय अखिलेश भारतको विहारमा १८० केजी गाँजासहित पक्राउ परेका छन् ।
नेपालबाट भारततर्फ गाँजा लैजाँदैगर्दा भारतको विहार राज्यमा प्रहरीले नेपालका दुईजना र एक भारतीय नागरिकलाई कारसहित नियन्त्रणमा लिएको छ । अखिलेशसँगै उनको काकाको छोरा राजेन्द्र मण्डल र भारतीय नागरिक दशरथ सिंह रहेको बिहार प्रहरीका एसपी शरद आरएसले बताए।
प्रहरीका अनुसार ०७७/७८ मा बुधनमाथि लागुऔषध गाँजा कारोबार मुद्दमा एक वर्ष नौ महिना दुई दिन कैद तथा १५ हजार जरिवानाको फैसला भएको थियो । तर फैसलापछि उनी फरार रहँदै आएको थिए । ०७१/७२ मा पनि उनलाई लागुऔषध मुद्दामा कैद सजाय भएको थियो। त्यस्तै, ०८०/८१ मा ब्राउन सुगर मुद्दामा पनि उनलाई १० हजार जरिवाना गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।