
मकवानपुर प्रहरीले हेटौँडा बसपार्क क्षेत्रबाट लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ निवासी १९ वर्षीय प्रीतम बल रहेको प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार असार ११ गते बिहान करिब ३ः१५ बजे हेटौँडा उपमहानगरपालिका १० स्थित बसपार्कबाट बललाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा उभिइरहेका बललाई खानतलासी गर्दा १६ ग्राम ४०० मिलिग्राम खैरो हिरोईन फेला परेको उनले जानकारी दिए।
पक्राउ परेका बललाई लागुऔषध मुद्दामा कारबाही गर्न जिल्ला अदालत मकवानपुरबाट ३ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालको भनाइ छ।