१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
२o८२ असार १२ बिहीबार ११:२४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चिटिक्क पारिँदै पोखरा जोड्ने सडक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार ११:२४:oo
  • आँबुखैरेनी–जामुने ४१ किलोमिटर सडक कालोपत्रे, थप ३८ किलोमिटर सडक पनि धमाधम स्तरोन्नति हुँदै

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत आँबुखैरेनी–जामुने ४१.४५ किलोमिटर सडक कालोपत्रे गरेर करिब सकिएको छ । सो सडकखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार करिब चार सय मिटर मात्रै सडक दोहोरो कालोपत्रे हुन बाँकी छ । दुई खण्डमा विभाजित गरे निर्माण थालिएको सडकको पूर्वी खण्ड तयार हुने अवस्थामा पुगेपछि पृथ्वी राजमार्ग यतिवेला चिटिक्क देखिएको छ । उक्त सडक हुँदै यात्रा गर्नेहरू बाटोमै रमाइरहेका भेटिन्छन् । कालोपत्रे सकेर रङरोगन गरिएकाले सडकको मुहार नै फेरिएको हो । 

चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले सो सडक निर्माण गरेको हो । अहिले ट्राफिक चिह्नहरू राख्ने काम भइरहेको आयोजनाले जनाएको छ । ‘रङरोगन, रोड मार्किङ, क्र्यास बेरियर, डेलिनियटर पोस्ट, कन्फिन्डेन्स ब्लक, साइन सिग्नल, दूरी देखाउने पिल्लरलगायतका काम तीव्र गतिमा भइरहेको छ,’ पाण्डेले भने । सडक निर्माणको जिम्मा पाएको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले १ वैशाख, ०७८ देखि निर्माण सुरु गरेको थियो । तर, समयमै काम सम्पन्न नभएपछि थपिएको म्याद पनि आगामी २९ असारमा सकिँदै छ । तर, उक्र मितिभित्र आवश्यक सबै काम सक्ने योजना रहेको पाण्डेले बताए । ‘निर्माणकार्य छिटो भइरहेको छ । अब केही दिन पानी परेन र सहज भयो भने समयमै काम सम्पन्न हुनेछ,’ उनले भने । 

सडक कालोपत्रे गर्ने क्रममा पहिलो चरणमा ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटर गरी १० सेन्टिमिटर मोटाइको कालोपत्रेले ढाकिएको आयोजनले जनाएको छ । बजार क्षेत्रमा चार लेन र अन्यत्र ६ लेनमा राजमार्ग विस्तार गरिएको छ । मुग्लिनदेखि आँबुखैरेनीसम्मको सात किलोमिटरको सडक विस्तार कार्य भने छुट्टै टेन्डर गरेर अघि बढाइने भएको छ ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पश्चिम खण्डमा पर्ने जामुनेदेखि सेतीपुलसम्मको निर्माण कार्य भने ५३ प्रतिशत सकिएको छ । यस खण्डमा २४ किलोमटिर दुईतर्फी नै कालोपत्रे सकिएको छ भने १३ किलोमिटर खण्डमा एकतर्फी कालोपत्रे भएको छ । त्यस्तै, १२ मध्ये १० वटा पुलको निर्माण सकिएको छ भने सयमध्ये ९२ वटा कल्भर्ट पनि तयार भइसकेका छन् ।