१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
Invalid date format ११:o६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एक महिनामा ४७ फरार अपराधी पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o६:oo

प्रहरीले जेठमा ४७ जना फरार अपराधीलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका ४७ जनालाई पक्राउ गरी अदालतमा पेस गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

पक्राउ परेका फरार अपराधीबाट एक करोड आठ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए । ‘फरार व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने सरकारको नीतिअनुसार लुकेर बसेका अपराधीलाई पक्राउ गरी अदालतमा बुझाएका छौँ,’ एसपी घर्तीमगरले भने । 

जेठमा ५२ लाख ३७ हजार ८८२ रुपैयाँबराबरको भन्सार छलीको अवैध सामानसहित चारवटा मोटरसाइकल, एक इ–रिक्सा र एउटा कार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाएको घर्तीमगरले बताए । बाँके प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार १७५ वटा सवारीसाधनलाई कारबाही गरी २५ लाख १२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । 

एक महिना अवधिमा १०१ वटा मुद्दा दर्ता भएकोमा उजुरी परेका १०७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको एसपी घर्तीमगरले जानकारी दिए । ‘४७ जना फरार अपराधीलाई पक्राउ गरी पाँच वर्ष तीन महिना कैद असुलउपर गरिएको छ,’ उनले भने ।

बाँके प्रहरीसमक्ष ६१९ वटा ठाडो उजुरी परेकोमा ४४२ वटा फस्र्योट भएको उनले बताए । लागुऔषध दुव्र्यसन र ओसारपसारविरुद्ध कडा रूपमा प्रस्तुत भएको बाँके प्रहरीले ७३८ ग्राम ४७४ मिलिग्राम ब्राउन सुगर, तीन सय मिलिलिटर कोरेक्स, १११ किलो गाँजा, तीन हजार ७६० मिलिग्राम चरेस, ५० ट्याब्लेट ट्रामाडोल र ७० ट्याब्लेट नाइट्रोजेपामसहित ओसारपसार तथा सेवन गर्ने ३४ जनालाई पक्राउ गरिएको उनले बताए ।

महिला तथा बालबालिकासम्बन्धी १० वटा मुद्दा दर्ता भएकोमा नौजनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उनले बताए । उनले घरेलु हिंसासम्बन्धी ५३ वटा उजुरी परेको बताउँदै ४१ वटा उजुरी फस्र्योट भएको जानकारी दिए ।