
करोडौँ राजस्व छलीको अभियोगमा नवलपरासीको नवज्योति ट्रेडर्सका प्रोपाइटर सौरभ यादवसहित चारजनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम मुद्दा दायर भएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विनोद घिमिरेले बताए।
राजस्व अनुसन्धान विभागले जारी गरेको विज्ञप्तिमा रामग्राम नगरपालिका– ८ स्थित बिक्रेता नवज्योति ट्रेडर्स प्रोपाइटर यादव र क्रेता आगवन स्टोर्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा गडबड देखिएको उल्लेख छ । उक्त विक्रेताले रु. ५० लाखभन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिए तापनि करदाता मूल्य अभिवृद्धि करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
निज करदाताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ विपरीत र दफा ४ को उपदफा क, ख, च र झ बमोजिम कसुर गरेको विभागले जनाएको छ । विभागले जारी गरेको विज्ञप्तिका अनुसार निज प्रतिवादी यादवको हकमा मूल्य अभिवृद्धि कर र भन्सार चोरी पैठारीतर्फको बिगो तीन करोड ४७ लाख ६२ हजार ७५३ कायम गरी प्रतिवादीबाट बिगो असुलउपर गरी शतप्रतिशत रकम जरिवाना हुन हदैसम्मको कैद सजाय हुन माग गरिएको छ । त्यस्तै, प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारीतर्फको ११ लाख ७१ हजार पाँच सय बिगो कायम गरी बिगो जफत गरी शतप्रतिशत रकम जरिवाना हुन तथा हदैसम्मको कैद सजाय हुन माग गरिएको छ ।
त्यस्तै, प्रतिवादी हिक्मतप्रसाद आचार्यको हकमा निजले क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकाले आधा सजाय मागदाबी र प्रतिवादी विनोद थापाको हकमा उक्त राजस्व चुहावटको कसुरमा संलग्नता रहेको पुष्टि भएको भन्दै जरिवाना हुन मागदाबी लिई उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको अनुसन्धान कार्यालय बुटवलका प्रमुख घिमिरेले बताए ।