
‘उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)’ को हेगमा जारी शिखर सम्मेलनका क्रममा यसका सदस्य राष्ट्रले आफ्नो रक्षा खर्च बढाउने सहमति जनाएका छन् । यो सहमति ‘सबैका लागि ठुलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । सहमतिअनुसार सन् २०३५ सम्ममा सदस्य राष्ट्रहरूले आफ्नो कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्नेछन् । ‘यो सबैका लागि ठुलो विजय हो ।
मैले पहिलेदेखि कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशतसम्म सुरक्षा खर्च बढाउन सदस्य राष्ट्रलाई आग्रह गर्दै आइरहेको थिएँ । अहिले अब केही समयमा पाँच प्रतिशतसम्म जाने उनीहरूबाट प्रतिबद्धता आएको छ । यो धेरै महत्वपूर्ण समाचार हुनेछ,’ ट्रम्पले भने । समूहका सदस्य राष्ट्रका नेताले शिखर सम्मेलनको भावी खर्च वृद्धिप्रति प्रतिबद्धता जनाउँदै ‘ऐतिहासिक’ घोषणा गरेका थिए । ट्रम्पले लामो समयदेखि युरोपले आफ्नो प्रतिरक्षामा धेरै कम खर्च गरेको गुनासो गर्दै आएका थिए ।
ट्रम्पका समर्थकले रुसबाट बढ्दो खतराको सामना गर्न र ट्रम्पलाई खुसी राख्न पनि यो वृद्धि आवश्यक रहेको बताएका छन् । प्रतिबद्धतामा कुल गार्हस्थ उत्पादन (जिडिपी) को ३.५ प्रतिशत खर्चलाई शुद्ध रक्षा खर्च र अर्को १.५ प्रतिशत साइबर सुरक्षा र पूर्वाधारजस्ता व्यापक सुरक्षा–सम्बन्धित क्षेत्रमा खर्चिने गरी विभाजन गरेको छ । नेटोका महासचिव मार्क रुटले ट्रम्पको उच्च प्रशंसा गर्दै खर्च वृद्धिका लागि सबैलाई सहमत गराएकोमा उनीप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
शिखर सम्मेलनमा आमन्त्रित युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबिच भेटघाट हुने चर्चा छ । ट्रम्पले जेलेन्स्कीलाई ‘असल मानिस’ को संज्ञा दिँदै युद्धविरामबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरिरहेको उल्लेख गरे । ‘मलाई लाग्छ प्रगति भइरहेको छ,’ ट्रम्पले भने । उता महासचिव रुटले पनि नेटोका सदस्यले किभलाई दिँदै आएको साथ समर्थन ‘अटुट र जारी रहने’ बताए ।