
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र द्रुत बनाउन सके राजस्व बढाउन सकिने धारणा व्यक्त गरेका छन्।
हुलाक सेवा विभागले आज बुधबार आयोजना गरेको आर्थिक वर्ष ०८१/८२ को प्रगति समीक्षासम्बन्धी अन्तर्क्रियामा मन्त्री गुरुङले आधुनिक र स्मार्ट हुलाक बनाउन नयाँ ऐनको आवश्यकता औँल्याए।
‘हुलाकलाई आधुनिक बनाउन मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको छ। आधुनिक हुलाक निर्माणका लागि नीति निर्माण अन्तिम चरणमा छ,’ उनले भने। उनले कर्मचारीको क्षमता वृद्धिमा पनि सुझाव दिए। ‘हामी यसै वर्ष हुलाक ऐन ल्याउछौँ, स्थानीय हुलाक संरचनालाई अझै प्रभावकारी बनाउने योजनाका साथ काम भइरहेको छ, यसका लागि कर्मचारीहरूको भरपुर सहयोग र साथ चाहिन्छ,’ उनले भने।
मन्त्री गुरुङले यस वर्षभित्र स्थानीय तहका हुलाक कार्यालयमा कम्तीमा एउटा मोटरबाइक उपलब्ध गराउनेसमेत उल्लेख गरे। आगामी आर्थिक वर्ष ०८२–८३ को बजेटमा हुलाकका लागि पर्याप्त रकम विनियोजन नभए पनि आवश्यकताका आधारमा थप गर्न र अन्य स्रोत जुटाउन आफूले सक्दो प्रयास गरेको उनको भनाइ थियो।
कार्यक्रममा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालय हुलाक सेवाको वृद्धि र विकासका लागि सधैँ सकारात्मक रहेको बताउँदै हुलाकलाई इ–कमर्समा जोड्ने प्रयत्न रहेको बताए। हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवालाई जनताको घरदैलोसम्म पुर्याउन स्थानीय तहसँग सहकार्य गर्दै आएको बताइन्।