१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
२o८२ असार १० मंगलबार १९:o४:oo
Read Time : > 1 मिनेट
समाचार

मविरुद्ध सञ्चारमाध्यमहरूले स्टन्ट गरे : मुख्यमन्त्री पाण्डे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार १९:o४:oo

बजेटमा एकलाैटी र मनपरी गरेको भन्दै सदनदेखि सडकसम्म आलोचित बनेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त्यसको सम्पूर्ण दोष सञ्चारमाध्यमलाई दिएका छन्।

१ असारमा प्रदेश सभामा पेस भएको बजेटमा गत शुक्रबारदेखि छलफल सुरु भएको छ। छलफलमा प्रतिपक्ष दल मात्र हैन सत्तासाझेदार नेपाली कांग्रेस र एमालेका अधिकांश सांसदले मुख्यमन्त्री र एमाले संसदीय दलका नेता खगराज अधिकारीकाे आलोचना गरेका छन्। छलफलका क्रममा सोमबार प्रदेशका पूर्वभौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश जुग्जालीले रोस्ट्रमबाट बजेटपुस्तिकासमेत च्यातेका थिए।

सदनमा उठेका र सांसदहरूले मुख्यमन्त्रीलाई गरेको आलोचनाको विषयमा समाचार लेखेपछि रुष्ट बनेका उनले मंगलबार पोखरामा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आयोजना गरेको ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्ने क्रममा सञ्चारमाध्यममाथि खनिँदै आवश्यकभन्दा बढी मनपरि र स्टन्ट गरेको आरोप लगाए। 

मुस्ताङ जिल्लाको कुल बजेट र आफ्नो जिल्ला गोरखाको एउटा योजनाका लागि विनियोजन भएको रकम बढी भन्ने विषयलाई इंगित गर्दै उनले भने– मुख्यमन्त्रीले सारा बजेट लग्यो, बजेट मुख्यमन्त्रीले खायो, अझ मैलै घरमा लगेर खायो भने जसरी समाचार आइरहेको छ। मलाई यस्ता समाचारले खासै छुँदैन। किनभने ४७ वर्षको राजनीतिक जीवनमा मैले यस्ता धेरै उतारचढाव व्यहोरोको छु। तर, समाजमा कसरी सम्प्रेषित गरिरहेका छाैँ, कुरा मात्र हो। यसबारे १३ असारमा सदनमा जवाफ दिन्छु सुन्न आउनुहोला, पत्रकारहरूलाई यहीँबाट निम्ता छ।’ 

उनले समाचार लेख्दा प्रमाण र तथ्यमा आधारित भएर लेख्नसमेत सुझाव दिए। ‘पत्रकारले जे लेख्न पनि पाइने, जे सम्प्रेषण गर्न पनि पाइने? तर त्यसको बारेमा अलिकति पनि टीकाटिप्पणी गर्न नपाइने?’  मुख्यमन्त्री पाण्डेले भने, ‘मलाई थाहा छ अब भोलि के न्युज बन्छ भनेर, कसैले त भन्नु पर्याे नी यो कुराहरू, स्वतन्त्रता भनेको छाडातन्त्र हैन होला नि।’

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा व्यक्त हुने कुरा र मूलधारका सञ्चारमाध्यममा आउने समाचार फरक नभएको आरोपसमेत लगाए। उनले नेपालको पत्रकारितामा नियमन आवश्यक रहेकोसमेत बताए।