१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 24 June, 2025
Invalid date format o८:५१:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बंगलादेश र भुटानसँग निरन्तर व्यापार घाटा

चालू आर्थिक वर्षको एघार महिनामा नेपालको निर्यात : बंगलादेशमा बढ्यो, भुटानमा घट्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५१:oo

पूर्वीनाका काँकडभिट्टाबाट धेरै व्यापार हुने दुई छिमेकी मुलुक बंगलादेश र भुटानसँगको नेपालको व्यापार निरन्तर घाटामा रहेको देखिन्छ । पछिल्ला समय यी दुई देशसँगको व्यापार बढ्दै गए पनि नेपालले निर्यात वृद्धि गर्न नसक्दा नोक्सान व्यहोर्नुपरेको हो । 

चालू आर्थिक वर्षको ११ महिनामा नेपालले बंगलादेशसँग तीन अर्ब ९१ करोड र भुटानसँग एक अर्ब २८ करोड व्यापार घाटा व्यहोरेको छ । दुवै देशबाट हुने आयात उल्लेखनीय मात्रामा बढेको देखिन्छ । आयातको तुलनामा निर्यात बढ्न नसक्नु तथा बढेको अवस्थामा समेत वृद्धिदर न्यून हुनुले व्यापार घाटा चुलिँदै गएको सरकारी तथ्यांकले देखाउँछ । 

यो ११ महिनामा नेपालको निर्यात बंगलादेशमा बढेको छ भने भुटानमा घटेको छ । जेठ मसान्तसम्ममा नेपालले ६१ करोड ८२ लाख ३७ हजार रुपैयाँबराबरका वस्तु बंगलादेशमा निर्यात गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९ करोड २८ लाख रुपैयाँ अर्थात् ४५.३ प्रतिशतले बढी हो । जेठ मसान्तसम्ममा नेपालले भुटानमा ११ करोड ६८ लाख ७६ हजारबराबरको निर्यात गरेको छ । जबकि, गत आर्थिक वर्ष ०८०÷८१ को यही अवधिमा ४६ करोड ७९ लाख ६१ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आवको तुलनामा भुटानतर्फको निर्यात झन्डै तीन सय प्रतिशतले घटेको देखिन्छ । 

बंगलादेश र भुटानसँग स्थलमार्गको व्यापार हुने काँकडभिट्टा नाका एउटा मात्र नाका हो । त्यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय भएर हवाईमार्गमार्फत व्यापार हुन्छ । स्थलमार्गअन्तर्गत काँकडभिट्टा–पानीट्यांकी–फूलबारी हुँदै बंगलाबन्धबाट व्यापार हुने गरेको छ । नेपालले बंगलादेशको व्यापारका लागि स्थलमार्गका रूपमा यही एउटा मात्र नाका प्रयोग गर्न सक्छ ।

बंगलादेशसँगको व्यापारमा सरकारको स्वामित्वमा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले हेर्दै आएको छ । कम्पनीका काँकडभिट्टा शाखा व्यवस्थापक सुवास पाण्डेका अनुसार केही वर्षयता नेपालबाट बंगलादेशमा उखुको खुदो धेरै मात्रामा जाँदा निर्यात बढेको हो । त्यसबाहेक नेपालबाट चिराइतो, चुथ्रो, अमलाजस्ता जडीबुटी, अम्रिसोको कुचोलगायत निर्यात हुँदै आएको उनी बताउँछन् ।  

चालू आर्थिक वर्षमा विगतको तुलनामा निर्यात बढ्नुको कारण बंगलादेशको राजनीतिक अवस्था पनि भएको व्यापारीहरू बताउँछन् । बंगलादेशमा उत्पन्न राजनीतिक परिस्थितिका कारण भारतबाट विगतको तुलनामा कम सामग्री बंगलादेश निर्यात हुने भएकाले नेपालबाट निर्यात केही बढेको उनीहरूको भनाइ छ । 

निर्यात बढे पनि बंगलादेशसँग ठुलो वैदेशिक व्यापार असन्तुलन छ । बंगलादेशबाट अर्बौँको सामग्री आयात हुँदा नेपालबाट करोडको मात्र निर्यात हुने गरेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको जेठ मसान्तको तुलनामा बंगलादेशबाट आयातसमेत बढेको देखिएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको ११ महिनामा बंगलादेशबाट चार अर्ब ५२ करोड ८८ लाख ८९ हजार रुपैयाँको सामग्री नेपाल आयात भएको छ । अघिल्लो आर्थिक वर्ष ०८०÷८१ को यही अवधिमा तीन अर्ब ९६ करोड १३ लाख ९८ हजारको सामग्री बंगलादेशबाट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

व्यवस्थापक पाण्डेका अनुसार बंगलादेशबाट ठुलो मात्रामा जुटका लागि आवश्यक पर्ने कच्चा पदार्थ, जुटको धागो एनसिआर पेपर, मोबिललगायतका सामग्री आउने गरेको छ । चालू आर्थिक वर्षको वैशाख र जेठमा बंगलादेशबाट आलु अत्यधिक मात्रामा आएको उनले बताए । 

भुटानसँगको व्यापार असन्तुलन ह्वात्तै बढ्यो
निर्यातको तुलनामा भुटानबाट आयात धेरै हुने भएकाले व्यापार असन्तुलन देखिएको छ । नेपालबाट भुटान निर्यात हुने वस्तु गत वर्षको तुलनामा यस वर्ष घट्दा व्यापार असन्तुलन ह्वात्तै बढेको देखिन्छ । भुटानमा गत आर्थिक वर्षको ११ महिनाको तुलनामा यस वर्षको ११ महिनामा निर्यात झन्डै तीन सय प्रतिशतले घटेका कारण व्यापार असन्तुलन ह्वात्तै बढेको हो । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालको भुटानसँगको व्यापारमा एक अर्ब २८ करोड १२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । जबकि, अघिल्लो आवको सोही अवधिमा व्यापार घाटा ८३ करोड २९ लाख रुपैयाँ मात्रै थियो । नेपालबाट भुटान प्लाइउड, केही किराना सामग्रीलगायत निर्यात हुने गरेको छ ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्म एक अर्ब ३९ करोड ८१ लाख ५० हजारबराबरको सामग्री नेपाल आयात भएको छ । गत आर्थिक वर्षको यही अवधिको एक अर्ब ३० करोड आठ लाख ९८ हजार रुपैयाँको सामग्री नेपाल आएको थियो । भुटानबाट जिप्सन, क्लिंकरजस्ता सामग्री नेपाल आउने गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख हरिहर पौडेलले जानकारी दिए ।