१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ असार १० मंगलबार o८:४२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएफसी महिला एसियन कप २०२६ : २६ वर्षपछि छनोट हुने नेपालको लक्ष्य

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार o८:४२:oo
  • नेपालले सन् १९८६ र १९९९ को एएफसी एसिया कप खेलेको थियो । २६ वर्षयता नेपालले छनोट चरण नै पार गर्न सकेको छैन । 

उज्वेकिस्तानमा पाँच दिनपछि एएफसी महिला एसियन कप २०२६ को छनोट प्रतियोगिता सुरु हुँदै छ । नेपालले अन्तिमपटक सन् १९९९ मा महिला एसिया कप खेलेको थियो । त्यसयता नेपालले छनोट चरण नै पार गर्न सकेको छैन । २६ वर्षपछि नेपालको लक्ष्य नै एसिया कपमा छनोट हुनु हो । मुख्य प्रशिक्षक प्याट्रिक डे बिल्डेको प्रशिक्षण रहेको नेपाली महिला टोलीले उज्वेकिस्तानसहित लाओस र श्रीलंकासँग खेल्नेछ । मुख्य प्रशिक्षक प्याट्रिकले समूह ‘एफ’मा उज्वेकिस्तान नै आफूहरूको बलियो प्रतिद्वन्द्वी रहेको बताएका छन् ।

‘हाम्रो टोली छनोटका लागि सकारात्मक छ । उज्वेकिस्तानमा राम्रो नतिजा निकाल्छौँ,’ अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार टोलीको बिदाइ गरेपछि मुख्य प्रशिक्षक प्याट्रिकले भने । कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले पनि एसिया कप खेल्ने अहिले सुनौलो अवसर रहेको बताएकी छिन् । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष अस्ट्रेलियामा एसियन कप खेल्ने छ । नेपाली टोली तयार रहेको कप्तान अञ्जिलाको भनाइ छ । श्रीलंका र लाओसभन्दा उज्वेकिस्तान तुलनात्मक रूपमा बलियो रहेको प्रशिक्षक प्याट्रिकको बुझाइ छ ।

‘हाम्रो नजरमा सहभागी टोलीमध्ये बलियो प्रतिद्वन्द्वी नै उज्वेकिस्तान हो । उनीहरूको खेल माथिल्लो स्तरको छ,’ उनले भने, ‘शारीरिक, प्राविधिक तथा रणनीति हिसाबले पनि उज्जेकिस्तान बलियो छ । मैले यो चुनौती स्वीकार गर्नुपर्छ ।’ अस्ट्रेलियाले आयोजना गर्ने एसियन कपको सेमिफाइनलमा पुग्ने चारै टोलीले ब्राजिलमा हुने फिफा महिला विश्वकपमा समेत छनोट हुनेछन् ।

बेल्जियमका प्याट्रिक नेपाली महिला फुटबलमा भित्रिएका पहिलो प्रो लाइसेन्स प्रशिक्षक हुन् । समग्रमा उनी महिला टोली हेर्ने दोस्रो विदेशी प्रशिक्षक हुन् । यसअघि अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली हेरेका थिए । उनको प्रशिक्षणमा नेपाल पहिलो चरणभन्दा माथि जान सकेन । सन् २०२७ को विश्वकप खेल्नेसमेत योजना बनाएको एन्फाले यसपटक प्याट्रिकबाट कम्तीमा एसिया कप खेल्ने आशा छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले आफू पनि हौसला बढाउन उज्वेकिस्तान पुग्ने बताए । ‘तपाईंहरू विनादबाब खेल्नुहोस् । हामी छनोट हुन सक्छौँ । तपाईंहरूलाई समर्थक गर्न म पनि उज्वेकिस्तान आउनेछु ।’ 

३९ वर्षअघि एसिया कप खेलेको नेपाल
नेपाली महिला टोलीले सन् १९८६ मा हङकङमा आयोजना भएको एएफसी महिला च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । समूह ‘बी’मा रहेको नेपालले थाइल्यान्ड, इन्डोनेसिया र आयोजक हङकङसँग प्रतिस्पर्धा ग¥यो । तीन खेलमा नेपालले १२ गोल खायो । जितविहीन रहेको नेपालले एक गोल पनि विपक्षीको पोस्टमा फर्काउन सकेन । पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरी हङकङलाई १–० मा रोकेको थियो । दोस्रो खेलमा थाइल्यान्डले नेपाललाई ५–० ले हरायो । इन्डोनेसियासँगको खेलमा नेपाल ६–० ले पराजित भयो । त्यसपछि सन् १९९९ मा फिलिपिन्समा भएको प्रतियोगितमा नेपाल समूह ‘सी’मा रह्यो ।

यसपटक पनि नेपालले एक जित पनि निकाल्न सकेन । नेपालको समूहमा जापान, उज्वेकिस्तान, थाइल्यान्ड र फिलिपिन्स रहे । नेपालले चार खेलमा ३० गोल व्यहोरेको थियो । नेपालले उज्वेकिस्तानविरुद्ध एक गोल फर्काएको थियो । जापानसँगको प्रतिस्पर्धामा नेपाल १४–० र थाइल्यान्डसँग ५–० ले पराजित भएको थियो । फिलिपिन्सले पनि नेपालको पोस्टमा ५–० को गोल ग¥यो । सन् १९९९ यता नेपालले एएफसी एसियन महिला कपमा स्थान बनाउन सकेको छैन ।

फिफा वरीयतामा उज्वेकिस्तान ५१औँ स्थानमा
नेपाल सम्मलित समूह ‘एफ’मा आयोजक उज्वेकिस्तानको फिफा वरीयतामाथि रहेको छ । फिफाले पछिल्लोपटक जारी गरेको महिला वरीयतामा उज्वेकिस्तान ५१औँ स्थानमा छ । यद्यपि, उज्वेकिस्तानले एक स्थान गुमाएको छ ।

नेपालको वरीयता एक सय रहेको छ । नेपालले पनि एक स्थान गुमाएको हो । लाओसको वरीयता १०७ रहेको छ । दक्षिण एसियाली राष्ट्र श्रीलंका १५९औँ स्थानमा रहेको फिफाले जनाएको छ  नेपालले २९ जुनमा लाओससँग खेल्दै छनोटको सुरु गर्नेछ । यसैगरी, २ जुलाईमा श्रीलंकासँग खेल हुनेछ । नेपालले आफूभन्दा ४९औँ स्थान माथि रहेको उज्वेकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

श्रीलंकाको प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी छन् । नेपालकी कप्तान अञ्जिलाले एसिया कपको तयारी राम्रो भएको बताइन् । ‘हामी लगातार अभ्यास गरिरहेका छौँ । युरोपबाट आएपछि अभ्यासमा जोडिँदा राम्रो भएको छ,’ उनले भनिन्, ‘खेलाडीहरूको मनोबल उच्च छ । युवा र अनुभवी खेलाडीको सम्मिश्रण राम्रो छ ।’ 

उज्वेकिस्तानमै पहिलो ११ खेलाडी घोषणा हुने
मुख्य प्रशिक्षक प्याट्रिकले नेपाली टोली हेरेको दुई साता बढी भएको छ । उनको नेतृत्वमा आधिकारिक रूपमा पहिलो खेल लाओससँग हुनेछ । दुई साताको प्रशिक्षण गराएका प्याट्रिकलाई पहिलो ११ खेलाडी छान्न सकस बनेको छ । ‘अहिले पहिलो ११ बाट को–को खेल्छन् भन्न सक्ने अवस्था छैन,’ उनले भने । उनलाई सहायक प्रशिक्षक राजेन्द्र तामाङले सहयोग गरिरहेका छन् । तामाङसँग नेपाली महिला टोलीसँग दुई दर्जनबढी अन्तर्राष्ट्रिय खेलको अनुभव छ ।

गोलरक्षकमा अञ्जिलासँगै अञ्जना रानामगर र उषा नाथ छन् । रक्षकमा अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाईंमध्ये कसलाई राख्ने भन्ने छ । मिडफिल्डरमा प्याट्रिकलाई धेरै अवसर छ । पूर्वकप्तान रेनुका नगरकोटेसहित अनिता बस्नेत, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल र अनिता केसी छन् । यता, स्ट्राइकरमा सावित्रा भण्डारीलाई रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी र रेखा पौडेलले साथ दिन सक्छन् । ‘अहिले कुन खेलाडी नै पहिलो ११ मा खेल्ने टुंगो छैन । सबै खेलाडीले निकै प्रतिस्पर्धा गरिरहेका छन्,’ प्याट्रिकले भने ।