१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२९:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

क्रिप्टो र हुन्डी कारोबार : दुई अर्ब ८६ करोडको बिगोमा अदालतले गर्‍यो १० लाख मात्रै जरिवानाको फैसला 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२९:oo

नेपाल प्रहरीले अनुसन्धान गरेको अहिलेसम्मकै ठुलोमध्येको एक क्रिप्टो कारोबार तथा हुन्डीको गिरोहका सदस्यलाई अदालतबाट न्यून सजाय भएको छ । दुई अर्ब ८६ करोडको बिगो कायम गरी दायर गरिएको संगठित अपराध तथा हुन्डी कारोबारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सातजनालाई सफाइ दिएको छ भने दोषी ठहर भएका १० जनालाई पनि अधिकतम १० लाख मात्रै सजाय तोकेको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले डेढ वर्षअघि रूपेश श्रेष्ठ नेतृत्वको गिरोहमाथि विस्तृत अनुसन्धान गरी १७ विरुद्ध मुद्दा दायर भएको थियो । जसमा जिल्ला अदालत, काठमाडौंले गत २७ जेठमा आंशिक ठहरको फैसला गरेको हो । १० जनालाई दोषी ठहर गरी सजाय भएको र सातजनाले सफाइ पाएको जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासबाट सो फैसला भएको छ । 

मुख्य आरोपी रूपेशलाई २१ महिना कैद र १० लाख जरिवाना तोकिएको छ । उनी थुनामा बसेको करिब १९ महिना भइसकेको छ । ६ मंसिर ०८० मा सिआइबीको टोलीले उनलाई घरबाटै ९९ लाख ६९ हजारसहित पक्राउ गरेको थियो । उनको मोबाइल तथा घरबाट बरामद भएको डायरीबाट हुन्डी तथा क्रिप्टो कारोबारको सञ्जाल पत्ता लगाइएको थियो । प्रहरीले संगठित अपराधको कसुरमा समेत विस्तृत अनुसन्धान गरेकोमा अहिले सामान्य मात्र सजाय भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बेखुस देखिएका छन् । 

गिरोहका मुख्य सदस्यमध्येका आशिष अग्रवाललाई १८ महिना कैद र १० लाख जरिवाना, कुमार परियारलाई एक वर्ष कैद र १० लाख जरिवाना, विमल पोदारलाई एक वर्ष कैद र १० लाख जरिवानाको सजाय भएको छ । अग्रवाल सेयर बजारको ब्रोकर कम्पनीका सञ्चालकसमेत हुन् । 

त्यस्तै, मीनबहादुर जिसी, दीपक शर्मा, वाङदेन फुनसोक लामा र रुदे तामाङलाई ६÷६ महिना कैद र ५÷५ लाख जरिवाना भएको छ । शरद भट्टराई र विगत शर्मालाई ३÷३ महिना कैद र एक लाख ५० हजारका दरले जरिवाना भएको छ । 

उक्त मुद्दामा प्रतिवादी बनाइएका रचना शर्मा, अंशुल श्रेष्ठ, दीपेश श्रेष्ठ, झनिन्द्रप्रसाद खतिवडा, वीरेन्द्र मगर, गोविन्दप्रसाद श्रेष्ठ र ओमकुमार श्रेष्ठले सफाइ पाएका छन् । रचना रूपेशकी श्रीमती, दीपेश भाइ र अंशुल भान्जा हुन् । परिवार नै मिलेर हुन्डी र क्रिप्टो कारोबार चलाएको सिआइबीको अनुसन्धानमा खुलेको थियो । अंशुल र दीपेश अमेरिका बस्दै आएका छन् । रूपेशका अर्का भान्जा आयुष श्रेष्ठ पनि अनुसन्धानको दायरामा रहेकोमा उनको ठेगाना प्रस्ट नखुलेको भन्दै त्यसवेला मुद्दा दायर नभएकोमा हाल दोस्रो चरणमा अनुसन्धान भइरहेको छ । 

हाल उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको घटनामा पनि अनुसन्धान भइरहेको सिआइबी स्रोत बताउँछ । संगठित अपराध तथा हुन्डीको अपराधमा संलग्नमाथि अनिवार्य रूपमा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान हुनुपर्ने प्रावधान छ । 

सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामालाई सफाइ 
डन पृष्ठभूमिका कांग्रेस नेता गणेश लामाले सम्पत्ति शुद्धीकरणको कसुरमा सर्वाेच्च अदालतबाट सफाइ पाएका छन् । सर्वाेच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले सोमबार उनलाई सफाइ दिने फैसला गरेको हो । 

लामालाई विशेष अदालतले दोषी ठहर गरी कैद र जरिवाना सुनाएको थियो । त्यसविरुद्ध उनले सर्वाेच्चमा पुनरावेदन गरेका थिए । साथै, उनलाई कम सजाय भएको भन्दै सरकारपक्षले पनि सर्वाेच्चमा पुनरावेदन निवेदन दिएको थियो । लामाले दिएको निवेदनमा उल्टी तथा सरकारपक्षले दिएको निवेदनमा पुनरावेदन जिकिर नपुग्ने फैसला सर्वाेच्चको संयुक्त इजलासबाट भएको छ । 

लामाले गुन्डागर्दीबाट करोडौँ कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । गुन्डागर्दी पृष्ठभूमिका लामा हाल कांग्रेस केन्द्रीय सदस्य छन् । गुन्डागर्दीको आरोपमा उनी पटक–पटक पक्राउ परेका थिए । 

५ जेठ ०७० मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहित पाँचजनाविरुद्ध गुन्डागर्दीबाट अकुत आर्जन गरेको अभियोगमा मुद्दा चलाएको थियो ।  लामाविरुद्ध २७ करोड एक लाखको बिगो दाबी गरिएको थियो । जसमा उच्च अदालतले २४ साउन ०७५ मा फैसला सुनाउँदै उनलाई १ वर्ष कैद र एक करोड ४० लाख ५० हजार जरिवाना र सोबराबरको सम्पत्ति जफतको सजाय सुनाएको थियो । 

गुन्डागर्दी नियन्त्रणका लागि त्यतिवेला सिआइबीको पहलमा पाँच प्रमुख गुन्डा नाइकेको सम्पत्ति छानबिन भई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत मुद्दा दायर भएको थियो । लामासहित दीपक मनाङे (राजीव गुरुङ), परशुराम बस्नेत र अभिषेक गिरीविरुद्ध मुद्दा दायर भएको थियो । अन्यले विशेष अदालतबाटै सो मुद्दामा सफाइ पाएका थिए । 

बालमन्दिरका पूर्वमहासचिवसँग पाँच लाख धरौटी माग 
बालमन्दिरको जग्गा हिनामिनासम्बन्धी ठगी मुद्दामा बाल संगठनका पूर्वअध्यक्ष गणेशभक्त श्रेष्ठ पाँच लाख धरौटीमा छुटेका छन् । गत २४ वैशाखमा उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । सोमबार अदालतमा हाजिर भएका उनलाई न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले धरौटीमा छाड्ने आदेश गरेको हो । उनीसहितका १७ प्रतिवादीविरुद्ध ६० करोड ३९ लाख बिगो र सात वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर भएको थियो । 

यस मुद्दामा उपप्रधानमन्त्री तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीतासिंह बैद्यसमेत प्रतिवादी रहेकाले मुद्दा कमजोर बनाएर दायर गरिएको आरोप लागेको छ । जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेकोमा पछि महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउन निर्देशन दिएको थियो । तर, केही प्रतिवादीको बयान मात्र राखेर प्रमाणहरू समावेश नगरी अभियोगपत्र दायर गरिएको सिआइबीका अधिकारी बताउँछन् । 

बालमन्दिरले बृहस्पति विद्यासदनलाई आफ्नो जग्गा लिजमा दिँदा अनियमितता गरिएको थियो । २७ माघ ०४९ र  ४ चैत ०५२ मा बृहस्पतिलाई अनौपचारिक सम्झौता गरी जग्गा भाडामा दिने निर्णय भएको थियो । ८ जेठ ०५८ मा बालमन्दिरको १४ रोपनी ९ आना जग्गा वार्षिक ३० लाख रुपैयाँ(प्रतिरोपनी प्रतिमहिना १६ हजार ७७८) भाडा कायम गरी  ८ जेठ ०८८ सम्मका लागि भाडामा दिइएको थियो । ३० वर्षको यस अवधिमा सुरुको ५ वर्ष र अन्तिमको ५ वर्ष गरी जम्मा १० वर्ष भाडामा कुनै वृद्धि नहुने भनिएको थियो । बाँकी २० वर्षको भाडामा भने प्रत्येक २ वर्षमा ५% का दरले वृद्धि हुने भनिएको थियो । जबकि ०५८ पूर्व गरिएको सम्झौतामा नै भाडा प्रतिवर्ष १० प्रतिशतका दरले वृृद्धि हुने भनिएको थियो । 

३ साउन ०७३ मा बालमन्दिर र बृहस्पति सदनबिच पुनः अर्काे सम्झौता गरियो । त्यतिवेला बालमन्दिरको थप १३ रोपनी १२ आना १ पैसा जग्गा भाडा दिने भनियो । जसको अवधि ४३ वर्ष र भाडा दर प्रतिवर्गफिट मासिक ६ रुपैयाँ १० पैसा कायम गरियो । जसमा बालमन्दिरको तर्फबाट हस्ताक्षरकर्ता रीता थिइन् । मिलेमतोका आधारमा विनाप्रतिस्पर्धा लिजमा दिइएको आरोप लाग्दै आएको छ । 

सुन तस्करीमा अमलालाई दुई लाख धरौटीमा छाड्ने आदेश 
६१ किलो सुन तस्करी मुद्दाकी प्रतिवादी अमला रोकासँग अदालतले २ लाख धरौटी माग गरेको छ । डेढ वर्षदेखि फरार रहेकी उनलाई गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको थियो । दुई दिनको बयान तथा थुनछेक बहसपछि काठमाडौंका जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले उनीसँग धरौटी माग गरेको हो । 

धरौटीमा छाड्ने आदेशलगत्तै सिआइबीले उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि फेरि हिरासतमा लिएको छ । अमला सुन तस्करी गिरोहका नाइके चिनियाँ मूलका बेज्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । उनको ठमेलमा होटेल भियना छ ।