
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि अलराउन्डर कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरेको छ । चितवनले कुशललाई पुनः मार्की खेलाडीका रूपमा रिटेन गरेको जनाएको छ ।
पहिलो संस्करणमा चितवन प्लेअफसम्म पुगेको थियो । चितवनले कुशलसहित रिजन ढकाल, दीपक बोहरा, अमरसिंह राउटेला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको हो ।
दोस्रो संस्करणको अक्सन हुनुअघि फ्रेन्चाइज टोलीहरूले खेलाडी रिटेन र रिलिज थालेका छन् । यसअघि सुदूरपश्चिम रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको थियो ।
चितवनले अघिल्लो सिजन टोलीमा रहेका विपिन रावल, दीपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की र शरद भेसवाकरलाई रिलिज गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो सिजन आगामी अगस्टमा गर्ने तयारी गरेको छ ।
चितवनले स्थिर र प्रतिभावान् टोली संरचनासँगै थप सुदृढीकरण योजनासहित एनपिएलको दोस्रो सिजनमा रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शनका लागि तयार अवस्थामा रहेको जनाएको छ ।