
बिवाइडीको नयाँ इभी मोडेल नेपाली बजारमा सार्वजनिक गरिएको छ । बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आइतबार बिवाइडी डल्फिन–०२५ संस्करण सार्वजनिक गरेको हो । अपग्रेड गरिएको यस बिवाइडी डल्फिनमा विभिन्न विशेषता समावेश गरिएको कम्पनीको भनाइ छ ।
यसमा इभी उद्योगमै पहिलोपटक लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभिबी) प्रयोग गरिएको छ, जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको बताइएको छ । यो ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, पाँच गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ भने यसको आयु १५ वर्षसम्म हुने बताइएको छ । साथै, यसमा एलएफपी लो भोल्टेज ब्याट्रीमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुनेछ ।
३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यस बिवाइडी डल्फिनमा नेपाली सडकमा गुड्न स्पोर्टी ह्यान्डलिङका लागि ट्युन गरिएको सस्पेन्सन, रातिमा अझ स्पष्ट देखिन प्रभावशाली एलइडी हेडलाइट्स, उन्नत कुलिङ र हिटिङ कार्यक्षमतासहितको सुधारिएको एसी सिस्टम रहेको छ । यस संस्करणमा एटलान्टिस् ग्रे रङ पनि थपिएको र यसले बिवाइडी डल्फिनको आधिकारिक कलर अप्सनलाई तीन अप्सनमा विस्तार गरेको कम्पनीले जनाएको छ । यसको बजार मूल्य भने ४१ लाख १५ हजार तोकिएको छ । यो मोडेल बिवाइडीका सोरुम र डिलरमा टेस्ट ड्राइभ र बुकिङका लागि पनि उपलब्ध भएको छ ।
कार्यक्रममा बिवाइडी डल्फिनको विश्वव्यापी रूपमा आठ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको उत्सव पनि मनाइएको थियो । जसअन्तर्गत दुई हजार ४९०औँ युनिट नेपालमा डेलिभर गरिएको छ । यो उपलब्धि नेपालमा इलेक्ट्रिक मोबिलिटीप्रतिको बढ्दो विश्वासको प्रमाण भएको कम्पनीको भनाइ छ ।
त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, ‘बिवाइडी डल्फिन एउटा गाडी मात्र होइन, यो इलेक्ट्रिक जीवनशैलीको वाहक हो । हरेक नयाँ संस्करणमार्फत हामी स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सुरुदेखि सेवापश्चात्सम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने वातावरण बनाइरहेका छौँ ।’