१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
२o८२ असार २ सोमबार o९:२o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ वर्षपछि भारतीय पर्यटक नेपाल हुँदै कैलाश जाने तयारी

एक लाख डलर सेक्युरिटी डिपोजिटबारे अन्योल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार २ सोमबार o९:२o:oo

६ वर्षपछि भारतीय पर्यटक नेपाल हुँदै चीन स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर यात्रामा जाने भएका छन् । चीनले भारतीय तीर्थयात्रीलाई सात वर्षपछि कैलाश जान अनुमति दिन लागेको हो । कैलाश यात्रा गराउँदै आएका नेपाली पर्यटन व्यवसायीले यो वर्ष ल्हासास्थित चिनियाँ निकायबाट एक लाख अमेरिकी डलर सुरक्षा शुल्क (फिर्ता हुने गरी) मागेको र यसबारे अझै अन्योल रहेको गुनासो गरेका छन् ।

सुरुमा कोरोना महामारी र सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकको झडपसँगै भारतीय नागरिकले कैलाश यात्रा गर्न पाएका थिएनन् । दुई देशबिच यस वर्ष सम्बन्ध सुधारसँगै नेपालबाट भारतीय तीर्थयात्री जान लागेका हुन् । भारतबाट यस वर्ष ७५० जना तीर्थयात्री भारतीय सीमा लद्दाख र लिपुपासबाट सिधै तिब्बत प्रवेश गरेर कैलाश यात्रामा जानेछन् । 

‘तिब्बतको ल्हासास्थित परराष्ट्र सेवा विभागले यो सातादेखि भारतीय यात्रुलाई यात्रा अनुमति दिने जानकारी दिएको छ । त्यहाँको परराष्ट्र मामिला कार्यालयबाट अनुमतिपत्र दिएको र अब पुलिस सर्भिस सेन्टर (पिएससी)बाट पत्र आउने भनिएको छ । यो कार्य सोमबारदेखि सुरु हुन्छ भन्ने जानकारी छ,’ कैलाशको यात्रा गराउने पर्यटन व्यवसायीहरूको संस्था एसोसिएसन अफ कैलाश टुर अपरेटरका अध्यक्ष विमल नहर्कीले नयाँ पत्रिकासँग भने । चीनले नेपालबाट यस वर्ष २० हजार भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवर जाने कोटा छुट्याएको छ । 

यात्रा अनुमति शुल्क झन्डै १६ सय डलर 
भारतीय नागरिकलाई यात्रा अनुमतिपत्रको शुल्क प्रतिव्यक्ति एक हजार ५९० अमेरिकी डलर तोकिएको छ । गैरभारतीय नागरिकलाई भने समूहको आकारअनुसार सात सयदेखि आठ सय अमेरिकी डलर शुल्क लाग्ने गरेको छ । भारतीय तीर्थालुलाई यात्रा गराउने नेपाली पर्यटन व्यवसायीलाई एक यामको एक लाख अमेरिकी डलर सुरक्षा शुल्क (पछि फिर्ता हुने गरी) तोकिएको छ । ‘यसबारे हामीले ल्हासामै गएर विरोध जनाएका छौँ । उनीहरूले अग्रिम भुक्तानीका रूपमा पैसा मागेका थिए, हामी एक लाख डलर तिर्न सक्दैनौँ बरु व्यवसाय नै गर्दैनौँ भनेर अडान राखेर फर्कियौँ,’ अध्यक्ष नहर्कीले भने, ‘अहिले उनीहरू लचक भएका छन् । अनुमतिपत्र र चीनमा खाने–बस्ने शुल्क अग्रिम भुक्तानी गर्नुस् भनेका छन्, यसमा हामी तयार छौँ भन्ने खबर पठाएका छौँ ।’ 

नयाँ पत्रिकाको सम्पर्कमा आएका पाँचजना कैलाश यात्रा सञ्चालकले ल्हासास्थित फरेन एक्सचेन्ज सेन्टर (एफइसी) र चाइना–इन्डिया पिल्ग्रिमेज सर्भिस सेन्टर (सिआइपिएससी)बाट एक लाख डलर सेक्युरिटी डिपोजिट (सुरक्षा निक्षेप) राख्न दबाब दिइरहेको बताए । भारतीय यात्रुलाई कैलाश यात्राका लागि यी दुई निकायले समन्वय गरिररहेका छन्, तर यी सरकारी निकाय नभएको कैलाश यात्रा सञ्चालकको भनाइ छ । भारतीयबाहेकका नागरिकका लागि तिब्बत पर्यटन बोर्डले यात्राका लागि समन्वय गर्दै आएको छ । 

‘चीन सरकारले सदाशयतापूर्वक २० हजार भारतीय तीर्थयात्रीको संख्या निर्धारण गरेर यात्रा गराउने अवसर दिएको छ । तर, ल्हासामा रहेका गैरसरकारी निकायले लगाउन खोजेको यो नियम आपत्तिजनक छ । नेपालबाट एक लाख डलर चिनियाँ निकायलाई भुक्तानी गर्न सम्भव पनि छैन, कानुनी रूपमा मिल्दैन भनेका छौँ,’ एक कैलाश यात्रा सञ्चालकले नयाँ पत्रिकासँग भने । 

अध्यक्ष नहर्कीले भने यो समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘यात्रा सञ्चालकले अहिलेसम्म एक लाख डलर तिरेका छैनन् भन्ने जानकारी छ । यो सम्भव हुँदैन भनिसकेका छौँ र चिनियाँ पक्ष पनि लचक भएको हुनाले समस्या नहुनेमा आशावादी छौँ,’ उनले भने, ‘२० वा २१ जुनबाट भारतीय नागरिकलाई कैलाश यात्रामा जाने वातावरण बन्छ भन्ने अपेक्षामा छौँ ।’

नेपाली यात्रा सञ्चालकले सुरुमा अनुमतिका लागि भारतीय नागरिकको विवरण भरेर ल्हासास्थित निकायमा पठाउने र त्यहाँबाट अनुमति आएपछि त्यो चिठीसमेत राखेर दिल्लीस्थित चिनियाँ राजदूतावासमा भिसाका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । चिनियाँ दूतावासले तीन दिनमा भिसा उपलब्ध गराउने आश्वासन दिएको छ । ‘त्यसपछि भारतीय तीर्थयात्री काठमाडौं आएर केरुङ नाका हुँदै कैलाश मानसरोवर जाने गरी बन्दोबस्त गर्दै छौँ,’ कैलाश यात्रा सञ्चालकले भने ।कैलाश यात्राका लागि हरेक वर्षको मेदेखि सेप्टेम्बरसम्म मुख्य सिजन मानिन्छ । ‘आधा सिजन त गइसकेको छ । अब अनुमति आएमा यस वर्ष कम्तीमा पनि १२ हजार भारतीय यात्रुलाई यात्रा गराउन सकिन्छ भन्ने आकलन गरिएको छ,’ अर्का यात्रा सञ्चालकले भने । 

नेपालगन्जबाट हुम्लाको हिल्सा भएर तिब्बतको ताक्लाकोट हुँदै एउटा रुट तथा रसुवागढीबाट केरुङ हुँदै कैलाश मानसरोवर जाने अर्को रुट कार्यान्वयनमा थियो । अहिले हुम्लाबाट जाने रुट कार्यान्वयनमा छैन ।कैलाश यात्रामा जाने भारतीय र नेपाली तीर्थयात्रीको खानपिन र सहयोगका लागि हरेक सिजनमा करिब पाँच हजार नेपाली संलग्न हुँदै आएका छन् । 

गत वर्ष चीनले नेपालबाट कैलाश मानसरोवरमा जाने पर्यटकको भिसा शुल्कमा तेब्बर वृद्धि गरेको थियो । तीर्थयात्री समूहको सहयोगीका रूपमा नेपालबाट जाने कामदारहरूको भिसा पनि तेब्बर भएको थियो । चीनले समूहमा कैलाश यात्रा गर्ने विदेशीको बायोमेट्रिक अनिवार्य गरे पनि यस वर्ष हटाएको व्यवसायीहरूले बताए ।  कैलाशयात्रीका सहयोगी भएर जाने नेपालीको भिसा शुल्क बढाएर १३ हजार ६६० रुपैयाँ प्रतिव्यक्ति पुर्‍याइएको छ । कोभिड–१९ भन्दा पहिला चार हजार एक सय रुपैयाँ थियो ।